नवलपुरमा आगोले जलेर घाइते भएकी बालिकाको उपचारको क्रममा काठमाण्डौमा मृत्यु

सदरलाइन संवाददाता ६ असार २०८२, शुक्रबार १७:५९
 

नवलपुर  : नवलपुरको देचुली–१७ पिप्रहरस्थित चितवन टाइगर रिसोर्टमा गत जेठ ३० गते राति आगोले जलेर घाइते भएकी कावासोती नगरपालिका–८ की बालिकाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको छ ।

सो घटनामा परेर घाइते भएका ५ जना मध्ये एक बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । आगोले पोलेर एकै परिवारका तीनसहित पाँच जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार कावासोती–८ निवासी ४४ वर्षिय प्रदीपकुमार भट्टराईकी छोरी ६ वर्षीया अन्नी भट्टराईको वर्न अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।


सो घटनामा कावासोती–८ निवासी ४४ वर्षिय भट्टराई, उनकी श्रीमती ४१ वर्षिया मीना पौडेल, छोरी अन्नी, २६ वर्षिय असिम राना र २४ वर्षिय अनुप गुरुङ घाइते भएका थिए ।

भट्टराई कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पसका प्रध्यापक हुन । घाइते चार जनाको वर्न अस्पतालमै उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए ।

रिसोर्टमा सेकुवा पोल्ने क्रममा पाँच जनालाई आगोले पोलेको थियो । उक्त घटनामा रिसोर्टको गम्भीर लापरबाही भएको पीडितको दाबी छ । घाइते भट्टराईले खाजा खाँदै गर्दा होटलका स्टाफले आगोमा पेट्रोल हालेकाले यस्तो घटना घटेको भिडियो सन्देशमार्फत बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले घटनाको अनुसन्धान भइरहे पनि घाइते निको भएर फर्किएपछि थप अनुसन्धानमा सहज हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि

६ असार २०८२, शुक्रबार १७:५९
नेपालगञ्ज : दैलेखको भैरवी गाउँपालिकास्थित जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको पुष्टि भएको छ । यो पुस्ट्याईले मुलुकमा वार्षिक ५५ अर्ब रुपियाँ बराबरको पाँच लाख मेट्रिक टनभन्दा बढी खाना पकाउने एलपी ग्यास आयात भइरहेको बेला त्यसलाई प्रतिस्थापन गर्न सक्ने गरी स्वदेशमै प्राकृतिक ग्याँस फेला परेपटि खुशी थपेको […]