
नेपालगञ्ज : बास नेपालको आयोजनामा यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यालयबाट प्रदान गर्ने सेवा, सुबिधाको प्रभावकारिताको माग गर्दै सो कार्यक्रम आयोजना गरिएको हो ।
बास नेपालका अभियन्ताहरुले बिहान ठिक १० बजेदेखि आधा घण्टासम्म साँकेतिक धर्ना दिएको सो कार्यक्रमको अन्तमा १३ बुंदे ज्ञापन पत्र बुझाईएको थियो । भ्रष्टाचारबिरुद्ध साँकेतिक दबाब दिनका लागि आधा घण्टा सांकेतिक धर्ना दिईएको कार्यक्रममा भ्रष्टाचार बिरुद्धका बिभिन्न सन्देशहरु प्रर्दशन गरिएको थियो ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सचिव जोशिना थारुले यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुख रमेश बुढाथोकीलाई ज्ञापनपत्र हस्तान्त्रण गरेकी थिइन् ।
ज्ञापनपत्रमा कार्यालयबाट सेवा प्रदान गर्दा भईरहेका सबै खालका भ्रष्टाचारहरुको नियन्त्रण गरियोस्, सरकारी साधनहरुको दुरुपयोगमा रोक लगाईयोस्, नागरिकहरुको गुनासो सुनुवाईका लागि नियमित रुपमा सार्बजनिक सुनुवाई गर्ने व्यवस्था मिलाईयोस्, भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गरियोस् लगायतका सुझाबहरु उल्लेख गरिइको थियो ।
ज्ञापनपत्रमा सुचना अधिकारी र गुनासो सुन्ने अधिकारीलाई थप सक्रिय बनाईयोस्, बिना झण्झट आबश्यक सुचना र सेवा सर्बसाधारणलाई उपलब्ध गराईयोस्, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गरियोस्, सुचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गरियोस्, कार्यालयमा नागरिक बडापत्र र गुनासो पेटिकाको उचित व्यवस्था गरियोस्लगायत रहेको थियो ।
यसैगरी बिचौलिया, दलालहरुलाई कार्यालयमा प्रबेश निषेध गरियोस्, सवारी चालक अनुमति पत्र जारी गर्दा भएका, हुने, हुन सक्ने भ्रष्टाचार रोकियोस कार्यालयबाट प्रदान गर्ने सेवालाई पारदर्शी र प्रभावकारी बनाईयोस्, बढि भष्टाचार हुने कार्यालयको रुपमा परिचित यातायात व्यवस्था कार्यालयको छवि सुधार गर्न माग गरिएको छ ।
सरकारी निकायमा हुने भ्रष्टाचारका बिरुद्धमा खवरदारी गर्ने, साँकेतिक रुपमा शान्ति पूर्ण बिरोध जनाउने, असल कार्यको प्रोत्साहन र खराब कार्यका बिरुद्ध जनमत सृजना गर्ने र समस्या समाधानका लागि सम्बद्ध निकायको ध्यानआकृष्ठ गर्ने उद्धेश्यले शुद्धिकरण कार्यक्रम गरिएको हो ।
ज्ञापनपत्र बुझदै कार्यालय प्रमुख बुढाथोकीले ज्ञापनपत्रमा उल्लेख भएका सुझाबहरुलाई आत्मसाथ गर्दै सुधार गर्न सकिने विषयलाई तत्काल सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले कर्यालयलाई सेवाग्राहीमैत्री बनउने बचन समेत दिएका थिए ।



