‘प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन खोजेको छ’

सदरलाइन संवाददाता २९ चैत्र २०८१, शुक्रबार १९:०४
 

बुटवल  :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहको निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबार बुटवलमा भएको नयाँवर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले ऐन, कानुन र नियमावलीमार्फत निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिएको र सोही अनुसार काम भइरहेको बताएका हुन ।

प्रदेश तहबाट नै सचिव राख्न सक्ने व्यवस्थालाई संस्थागत गर्न पहल जारी राखेको कुरामा जोड दिदै भने–‘तपाईँहरू मध्येबाटै प्रदेश सरकारका सचिव बन्नुपर्छ भन्ने मान्यता राखेर सरकार अघि बढेको छ । प्रदेश तहमा निजामती सेवामा आकर्षण बढाउन ध्यान दिएका छौँ । कर्मचारीको मनोबल उच्च राखेर नै समृद्ध प्रदेश बनाउन सकिन्छ ।’


रिक्त पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगमार्फत प्रक्रिया अघि बढेको तर प्रशासन सेवा तर्फ अदालतमा मुद्दा परेका कारण विज्ञापन हुन नसकेको भनाइ उनको छ । ‘कहाँ मिलेको छैन, त्यहाँ सरकारले मिलाउन तयार छ । कर्मचारी साथीहरू संवादमा आउन जरुरी छ,’–उनले भने–‘संवादको माध्यमबाट समस्या समाधान गर्न सरकार तयार छ । तर, ढोका बन्द गर्ने काममा कोही नलाग्नुस् ।’

प्रदेशलाई बलियो बनाउन कर्मचारी प्रशासनलाई मजबूत बनाउन सरकार लागिपरेको भए पनि केही कर्मचारी अदालत जाने प्रवृत्तिका कारण कर्मचारीको रिक्तताको प्रश्न गम्भीर रूपमा उठेको बताए ।

‘हाम्रा साथीहरू अदालत धाएकै कारण कर्मचारीले जुन वृत्तिविकासको अवसर पाउने हो, त्यो ढिलाइ भयो’–उनले भने,‘अवसरलाई वञ्चित गर्न कर्मचारी साथीहरू नै लाग्यौँ । ती नमिलेका कुराहरू मिलाउन सकिन्थ्यो, तर कर्मचारी साथीहरू ढोका नै बन्द गरेर लाग्यौँ ।’ संगठनका प्रदेश अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजिकरण महासचिव भिमलाल खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोशी प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण गर्न सुरु

२९ चैत्र २०८१, शुक्रबार १९:०४
विराटनगर  :  आगामी आर्थिक वर्षको लागि कोशी प्रदेश सरकारले आगामी नीति कार्यक्रम तथा बजेटको तयारी प्रारम्भ गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका सचिवहरुलाई नीति कार्यक्रमका प्राथमिकता र बजेटका बारेमा निर्देशन दिएका छन् । सचिवहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नीति र कार्यक्रम राम्रो र प्रभावकारी हुनुपर्ने बताए । […]

ताजा अपडेट