नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले विपदमा आफ्ना जनातालाई राहत दिने उद्देश्यले दुईवटा वडामा आवासीय घर बीमा कार्यक्रम सुरु गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले वडा नम्बर ३ र ७ का आवासीय बीमितलाई बीमाको प्रमाणपत्र हस्तान्तरण गरेर आवासीय बीमा कार्यक्रम सुरु गरेका हुन् ।
नगर प्रमुख विष्टले विपदको शक्तिशाली औजार बीमा भएको उल्लेख गर्दै आवासीय घर बीमा कार्यक्रमले विपदको जोखिममा रहेका परिवारलाई आर्थिकरुपले सशक्त बनाउन खोजिएको कुरामा जोड दिदै उनले विपदपछि पनि परिवारमा थप पीडा नहोस् भनेर न्यून आय भएका परिवारलाई लक्षित गरेर आवासीय बीमा कार्यक्रम सुरु गरिएको जानकारी दिए ।
उनले भने–‘ विपद पहिला नै जानकारी दिएर नहुने भएकोले भूकम्प, बाढी तथा डुबान, आगलागीबाट हुन सक्ने जोखिमलाई यसले ठूलो राहत दिन सक्छ । त्यसैले पहिलोपटक नगरका अत्यन्तै जोखिम रहेका दुई वडामा विमा कार्यक्रम लागू गरिएको हो ।
विपद जोखिम न्यूनीकरण गर्न सुरु भएको आवासीय बीमा कार्यक्रममा दुई वडाका १ सय ५१ घरधुरी पहिलो चरणमा समावेश भएका छन् । दुई वडा मध्ये नेपालगञ्ज ३ का १ सय ९ र ७ का ४२ घर आवासीय बीमा कार्यक्रममा समेटिएका छन् । विपद जोखिम सम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपदपछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ ।


नेपालगञ्ज उपमहानगरपालिकाका विपद व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहले विपद दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्रका वडामा आवास बीमा कार्यक्रमलाई अगाडि बढाइएको जानकारी दिए ।
नेपालगञ्जको वडा नम्बर ३ र ७ मा करीब ७ सय ५० घर रहेका छन् । आवासीय घर बीमाका लागि उपमहानगरपालिकाले १५ लाखसम्मको बीमा गरिदिने र १५ लाखसम्मको घरको बीमा गर्दा उपमहानगरपालिकाले प्रिमियम तिरिदिने तथा १५ लाख भन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको सिंहको भनाई छ ।
१५ लाखको बीमा गर्दा पाँच सय ८४ प्रिमियम पर्दछ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ । राष्ट्रिय बीमा कम्पनी नेपालगञ्जका प्रबन्धक नवीन शर्मा पौडेलले बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग–अलग बीमा हुने जानकारी दिए ।
आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पालिकाको वडा नम्बर ३ र ७ मा आवासीय घरको घनत्व बढी रहेको जानकारी दिँदै बाटो साँघुरो र पुरानो बस्ती तथा घर जीर्ण भएकाले ती स्थानबाट आवासीय घर बीमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको बताए । कार्यक्रममा नेपालगञ्जका प्रबक्ता प्रमोद रिजाल, विपद फोकल पर्सन दिपेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो ।