नेपालगञ्ज : छठ पर्वको मुख्य दिन आइतवार बेलुका अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रवारदेखि सुरु भएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।
दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खिर (खरना) षष्ठी मातालाई चढाइ बर्तालुले प्रसाद स्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन आज कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ । कार्तिक शुक्ल सप्तमीका दिन भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।


पहिला तराईको सीमित क्षेत्रमा मनाइने छठ अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रमा पनि धुमधामले मनाउन थालिएको छ ।