बैजनाथ (बाँके) : सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता बाँकेमा सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षालयमा सञ्चालित सि.सं.२३७ (ज) ११ महिने तालिममा सहभागी १ सय ८ जना सशस्त्र प्रहरी जवानलाई दीक्षान्त गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले प्रशिक्षार्थीहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्दै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण पनि गरे ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौंस्थित सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा कार्यरत न्यौपानेले आधारभूत तालिमका प्रशिक्षार्थीहरुलाई निर्देशनात्मक सम्बोधन गर्दै संगठनप्रति कटिबद्ध भई देश र जनताको सेवामा समर्र्पित हुन आह्वान गरे । उनले अनुशासित भएर आफ्नो कर्तव्य पालना गर्न निर्देशन दिए ।


कार्यक्रममा धन्यवाद ज्ञापन सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ताका प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठले गरेका थिए भने तालिम सम्बन्धी प्रतिवेदन सशस्त्र प्रहरी उपरीक्षक प्रकाश कुमार सुवेदीले प्रस्तुत गरेका थिए । त्यसक्रममा विविध सांस्कृतिक कार्यक्रम तथा डेमो प्रदर्शन समेत गरिएको थियो ।
समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकाय लगायत अतिथिहरुले उपस्थिति थियो ।
संगठनमा नयाँ भर्ना भई आउने नवप्रवेशीहरु तथा सशस्त्र प्रहरी कर्मचारीहरुको लागि समय सापेक्ष आधारभूत तथा उन्नत तालिमहरु सञ्चालन गर्ने उद्देश्यले शिक्षालयले काम गरिरहेको छ ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ नौवस्ता पितमारीमा ४० विगाह जमिनमा सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय अवस्थित छ ।