बाबा वर्फानी आश्रम धार्मिक पर्यटकिय गन्तब्य बन्दै

रुद्र सुवेदी २७ फाल्गुन २०७७, बिहीबार १९:०२
 


नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिकामा रहेको दुधगिरी पर्वतमा बाबा वर्फानी आश्रम धार्मिक पर्यटनको केन्द्र बन्न थालेको छ । नरैनापुर गाउपालिकाको प्रशाशकिय भवनबाट उत्तरतर्फ जंगलको बाटो हुँदै करिव १३ किलोमिटरको यात्रा मोटरसाईकल वा साईकलमा तय गरेपछि पुगिन्छ चुलियामाई ।

चुलियामाईमा आफ्नो साधन मोटरसाईकल साईकल राखेर भक्तजनले आफ्नो भाकलको लागि बन जंगलमा रहेको बाब्बियो उखेलेर रुखमा बाधेर चुरीयामाईमा दाउरा चढाउदै करिव १ घण्टा पैदल हिडेर पुगिन्छ दुधगिरी पर्वतमा रहेको बाबा बर्फानी आश्रममा । यो आश्रम रहेको अग्लो चुचुरोेमा शिबजीको मन्दीर रहेको छ ।

दुधगिरी पर्वतमा रहेको बाबा वर्फानीको आश्रम र शिव मन्दीरमा नरैनापुर गाउपालिकाबासी मात्र नभएर नेपालका अन्य जिल्ला तथा भारतका विभिन्न स्थानबाट समेत मानिसहरु धार्मिक आस्था राखेर आउने गरेका छन् ।

हेर्दा ठूलो ढुंगामा चुलोको आकृति बनेको छ । यसलाई ‘चुलिया माई’ भन्दै दाउरा चढाउदै दुधगिरी पर्वतको उकालो उक्लने गरिन्छ । करिव १ घण्टा तेस्रो उकालो हिडेपछि पुगिन्छ बाबा बर्फानीको आश्रम रहेको दुधगिरी पर्वतको चुचुरोमा ।

दुधगिरी पर्वत र चुलियामाईका बारेमा जानकारी गराउदै नरैनापुरका स्थानीय तथा पूर्व नरैनापुर गाविसका अध्यक्ष समेत रहेका रामानन्द शर्माले पछिल्लो समय बाबा बर्फानी आश्रम दर्शनका लागि जानेको घुईचो समेत बढेको बताए ।

उनले भने–‘यहाँ आउने मानिसहरुले चुलोमा दाउरा चढाउदै उकालोे उक्लने चलन रहेको छ । कसैको भाकल छ भने आफुले भाकल गर्नको लागि वरीपरीको भिरमा रहेको बाब्बियो उखलेर रुखमा बाँध्ने र भाकल पुरा भएपछि खोल्ने चलन छ ।’

नरैनापुरबाट उत्तर तर्फ गोग्लीमा रहेको बाबा बर्फानीको कुटीबाट करिव १३ किलोमिटर जंगलको बाटो खोला खोल्साको किनारै किनार हिडेपछि चुलियामाई पुगेपछि जंगलमै आफ्नो साधन छाडेर बाबा बर्फानीको आश्रम जान सकिन्छ । उकालो लागेपछि खाने पानीको अभाव हुने तथा माथि आश्रममा पनि पानी तलबाटै लैजानु पर्ने भएकोले आश्रम दर्शन गर्न जाने श्रद्धालुले तलबाटै आफुले खानेपानीको जोहो गरेर पुग्नु पर्ने बाध्यता रहेको छ ।

को हुन बाबा बर्फानी ?

करिब २५ वर्षअघि भगवान शिवको खोजीमा तपस्या गर्दै दुधगिरि पर्वतमा आएको बताउछन बाबा बर्फानी । काभ्रेको भण्डारी परिवारमा जन्म लिएको उनले आफु भगवान शिवको भक्त रहेको र शिवजीको खोजी गर्दै आउदा भेटेको गन्तब्यको रुपमा दुधगिरि पर्वतलाई रोजेर बसेको बताउछन । उनले हाल दुधगिरी पर्वतमा गौशाला निर्माण गरी करिव २ सय ५० गाईको अझै पनि संरक्षण गर्दै आई रहेका छन् ।


उनले दुधगिरी पर्वतको महत्व धार्मिक तथा तपोभूमिको रुपमा रहेको जानकारी दिदै समग्र मानवजातीको कल्याणको लागि स्थापना भएको बताए । नरैनापुर–३ गेग्लीबाट जंगलको कच्ची बाटोमा खोला नाला हुँदै अग्लो डाँडा दुधगिरी पर्वतमा बाबाको आश्रम छ । जहाँ बाबाले गौशाला निर्माण गरी झन्डैै २ सय ५० भन्दा बढी गाई अहिले पनि पालेका छन् । उनले गौ रक्षाको लागि आफ्नो चिन्ता केन्द्रीत भएको बताउदै तपोभूमिको रुपमा रहेको दुधगिरी पर्वतमा गुरुकुल, धर्मशाला, तथा योगिको लागि कुटीलगायतका पूर्वाधार निर्माण गर्न आवश्यकता रहेको बताए ।

अनकन्टार जंगल र ठाडो भिर भएको स्थानमा निर्माण गरिएको शिवजिको मन्दीरको संरक्षण र संबद्र्धनको लागि आउने भक्तजनसंग हारगुहार गर्दै बाबाबर्फानीले माथि दुधगिरि पर्वतको चुचुरोेसम्म पुग्ने बाटो, बिद्युत, खानेपानी, गौशाला, गुरुकुल, शन्तहरुको लागि कुटी र धर्मशालाको निर्माण गर्न अत्यन्तै आवश्यक रहेको बताए । उनले नरैनापुरकै गोग्लीमा रहेको कुटी तथा गौशालाको संरक्षणमा स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान जानुपर्ने बताए ।

देवघाटबाट दुधगिरी आश्रममा आईपुगेका आफुलाई बाबा बर्फानीका अनुयायी बताउने महाविर नाथ योगीले दुधगिरी पर्वत साच्चिकै तपोभूमिको रुपमा रहेको आफुलाई अनुभव भएको बताउदै यहाँको विकासको लागि खानेपानी र गौशाला, धर्मशाला लगायतको निर्माण गरे सबै पुग्नसक्ने बताबरण तयार गर्नुपर्ने बताए ।

नरैनापुर गाउपालिका र प्रदेश सरकारको चासो

बाँकेको नरैनापुर गाउँपालिकामा रहेको बाबा बर्फानी आश्रमलाई लुम्बिनी प्रदेश सरकारले धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमूना’को नेतृत्वमा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीसहितको प्राविधिक टोलीले बाबा बर्फानी आश्रम क्षेत्रको निरीक्षण गरेर सो क्षेत्रको विकासको लागि ‘डीपीआर’को काम थालेको छ ।

बाबा बर्फानी आश्रमको स्थलगत अवलोकन गर्न पुगेकी लुम्बिनी प्रदेश सांसद नमूनाले राप्तीसोनारी र नरैनापुरको लेक (अग्लो डाँडो)लाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारले २ करोड रुपैयाँ छुट्टाएको जानकारी दिए । उनले यो क्षेत्रको विकासका लागि तत्कालीन र दीर्घकालीन योजना निर्माण गरेर बिकास गर्ने प्रदेश सरकारको लक्ष रहेको बताईन ।
उनले भनिन–‘ प्रदेश सरकारले यो क्षेत्रको विकासको लागि २ करोड विनियोजन गरेको छ । तत्काल यहाँको विकासको लागि आवश्यकता के छ भनेर प्राविधिक टोली सहित आई पुगेका हौ ।’ उनले दुधगिरी पर्वत, गाईलेकमा हेलिप्याड र केबलकार, भ्यू टावर निर्माण गरी धार्मिक पर्यटनको बिकासको लागि पहल गरेको जानकारी दिईन ।

दुधगिरी पर्वतमा रहेको बाबा बर्फानी आश्रम अग्लो शिखरमा छ । चारैतिर हेर्दा असाध्यै रमणीय र मनमोहक ठाउँ छ । मनै प्रफुल्ल बनाउने वातावरण रहेको कारणले पनि गोग्लीमा रहेको बाबा बर्फानी आश्रम र दुधगिरी पर्वतमा रहेको आश्रमलाई संरक्षण संगै धार्मिक पर्यटन क्षेत्रको रुपमा विकाय गर्ने गरी तयारी गरिएको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत शाहीले जानकारी दिए । उनले आन्तरिक र बाह्य धार्मिक पर्यटकका लागि पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने गरी तयारी अघि बढाईएको बताए ।

सो क्षेत्रको डिपिआर तयार गर्नको लागि काठमाडौंको एम.के.कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्सन प्रालिले एरियल सर्भे गरेको छ । आगामी २ महिनाभित्र डीपीआर तयार गरी सो क्षेत्रको विकासको लागि पहल गरिने छ । दुधगिरी पर्वतलाई धार्मिक पर्यटनको रुपमा विकास गर्नसके यसले नरैनापुरको विकासका लागि पनि ठूलो योगदान दिने अपेक्षा गरिएको छ ।

नागरिक स्तरबाट बाबा वर्फानी विकास निर्माण समिति

बाबा वर्फानी आश्रमको विकास साथै गौ रक्षाको लागि नेपालगञ्जका अध्यक्ष लभराज श्रेष्ठको अध्यक्षतामा नागरिक स्तरबाट बाबा वर्फानी विकास निर्माण समिति गठन गरिएको छ । सो समितिले तत्काल रुपमा दुधगिरी पर्वत र गेग्लीमा रहेको बाबा वर्फानी आश्रमको संरक्षण गर्नुको साथै तत्कालको आवश्यकतालाई पुरा गर्दै आएको बताउछन सो समितिका सक्रिय सदस्य शिवराज सिग्देल । उनले गेग्लीबाट चुलिया माईसम्मको बाटोको मर्मत गर्ने र विभिन्न स्थानमा पिउने पानीको व्यवस्था गर्न सके धेरै भन्दा धेरै श्रद्धालुहरु दुधगिरी पर्वत पुगेर धार्मिक तथा रमणिय आनन्द लिन सक्ने बाताबरण तयार हुने दाबी गरे ।
फोटो : रुद्र सुवेदी/ सदरलाइन

Next Post

भुँवरभुवानी मन्दिर परिसरमा शिबमन्दिर उद्घाटन

२७ फाल्गुन २०७७, बिहीबार १९:०२
राप्तीसोनारी(बाँके) :बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं ३ बैजापुरमा रहेको भुवरभुवानी मन्दिर परिसरमा शिबमन्दिर उद्घाटन गरिएको छ । राप्तीसोनारी गाँउपालिकाको १२ लाख लगानिमा बनेको सो मन्दिर बिहिबार पालिका अध्यक्ष लाहुराम थारुले उद्घाटन गरे । मन्दिरको उद्घाटन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष थारुले संस्कार र संस्कृती संरक्षरण र संवर्धन गर्न सके समाज अनुशासित […]

सम्बन्धित