दाङ : बनमा डढेलो लगाउनेलाई पहिचान गरी लुम्बिनी प्रदेश सरकारले कानुनी दायरामा ल्याउन निर्देशन जारी गरेको छ । बढ्दै गएका वन डढेलोका घटनालाई गम्भीर रूपमा लिँदै डढेलो लगाउने व्यक्तिहरूको पहिचान गरी कारवाही गर्न यस्तो निर्देशन जारी गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले डढेलो लगाउने घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका हुन । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत परिपत्र गर्दै डढेलोको घटना बढ्दै जाँदा मानव बस्तिमा आगलागीको जोखिम बढेकाले डढेलो लगाउने व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन निर्देशन दिएका हुन ।
प्रदेशका विभिन्न जिल्लाहरूमा लगातार डढेलो तथा गहुँबालिमा आगलागीका घटना बढिरहेका छन् । डढेलो तथा आगलागी हुदा जनधन, वनस्पति, वन्यजन्तु र वातावरणमा ठूलो असर परेको छ । लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबूराम अधिकारीले जानीजानी आगलागीको घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरेर कानूनी दायरामा ल्याउन निर्देशन दिइएको जानकारी दिए ।


यस बर्ष चैत १ गतेदेखि २५ गतेसम्मको अवधिमा १२ वटा जिल्लामा आगलागीका १ सय २९ वटा घटना घटेका छन । यो अवधिमा आगलागीमा परेर १ जनाको मृत्यु भएको र १३ जना घाइते भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
डढेलो नियन्त्रणका लागि निगरानी, जनचेतना र तत्काल प्रतिकार्य योजना प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो । प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रलाई अझ सशक्त बनाउँदै समन्वय, सूचना व्यवस्थापन र प्रतिकार्यमा जोड दिइएको छ ।
वन डढेलो तथा आगलागीको घटना नियन्त्रण र सम्भावित क्षती न्यूनिकरणकालागि भरपर्दो पूर्व तयारी गर्न अनुरोध गरिएको हो । वन ऐन, २०७६ अनुसार राष्ट्रिय वनमा आगजनी गरेमा त्यसबाट भएको सम्पूर्ण क्षतिको विगो असुल गर्नुका साथै ३ वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।