लुम्बिनीमा आगामी वर्ष घाटा बजेट नल्याईने मुख्यमन्त्री आचार्यको भनाई

सदरलाइन संवाददाता १९ चैत्र २०८१, मंगलवार १९:०६
 

दाङ् :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले घाटा बजेट नबनाउने बताएका छन् ।

प्रदेश विकास समस्या समाधान समितिको मंगलबार सम्पन्न बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने र बजेटको आकार पनि घट्ने भएकाले सोही अनुसार तयारी गर्न मातहतका निकायलाई निर्देशन दिए ।

यससँगै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम र बजेट बनाउँदा हरेक मन्त्रालयले जनताको मन छुने गरी योजनाहरू समेट्न आग्रह गर्दै भने–‘आउँदो वर्षको बजेट घाटा बजेट हुने छैन । ३२/३३ अर्बको हाराहारीमा बजेट आउँछ । वास्तविक धरातलमा उभिएर बजेट बनाउनुपर्छ । प्रदेश सरकारलाई लयमा हिँडाउन जिम्मेवार भएर सरकार अघि बढ्छ ।’

प्रदेश सरकारले जनताको मन छुने योजना बजेटमा समेटिने र त्यसका लागि गृहकार्यमा जुट्न निर्देशन दिए । ‘जनतामा निराशा होइन, आशा जगाउने खालका योजना ल्याउन जरुरी छ । मन छुने योजनाहरू समेट्न आवश्यक छ,’ उनले भने, ‘प्रदेश स्थापना भएपछि अघिको अवस्था कस्तो थियो र अहिलेको अवस्था के छ भन्नेबारेमा समेत तुलना गरेर योजना अघि सार्न जरुरी छ ।’


बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले व्यक्ति योजना माग्न आउने प्रवृत्तिको अन्त्य गर्ने र प्रणालीलाई चुस्त बनाउनुपर्ने बताए । प्रदेश स्थापना भएपछि कार्यान्वयन भएका योजनाहरूको पहिचान गर्न जरुरी रहेको र यसका लागि पनि काम गर्नुपर्ने बताएका हुन ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जनताको भावनालाई सम्बोधन गर्नेगरी कामको गतिलाई बढाउन जरुरी रहेको बताए । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की,  वन तथा वातावरण मन्त्री देवकरण कलवार, प्रमुख सचिव बावुराम अधिकारी लगायत मन्त्रालयका सचिव तथा विभिन्न क्षेत्रका विज्ञहरूले सुझावसहितको धारणा राखेका थिए ।

योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले प्रदेश विकास समस्या समाधान समितिको बैठकमा चालु आर्थिक वर्षको हालसम्मको अवस्था, उपलब्धि र आगामी योजनासहितको विषय प्रस्तुत गरेका थिए ।

बैठकमा आगामी  आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा साना  तथा  टुक्रे  आयोजनालाई  निरुत्साहित  गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने, आयोजनाहरूको प्राथमिकीकरण गर्नुपर्ने लगायतका विषयबारे छलफल भएको थियो ।

चालु आर्थिक वर्षमा पाँच लाखभन्दा कम बजेट विनियोजन भएका ४ हजार ३ सय ९२ आयोजना रहेका छन् भने १० लाखभन्दा कम बजेट भएका ८ हजार २ सय ६ वटा आयोजना रहेका छन् । टुक्रे आयोजना धेरै हुँदा कार्यान्वयनमा समस्या देखिएपछि सरकारले निरुत्साहित गर्ने रणनीति अवलम्बन गर्न थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा सिंह

१९ चैत्र २०८१, मंगलवार १९:०६
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई दिइएको छ। मन्त्रिपरिषदमा सिंह दोस्रो वरीयतामा भएकोले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीमा सिंहलाई तोकेका हुन्। प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण र […]

ताजा अपडेट