सदरलाइनडटकम,
काठमाण्डौ : सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आवद्ध अनेरास्ववियुले मंगलवार काठमाण्डौमा प्रदर्श गरेको छ । भाडा बृद्धि तत्काल फिर्ता लिन माग गर्दै अनेरास्ववियुले चावहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडी प्रर्दशन गरेको हो ।
चाडपर्वको मुखमा जनताको ढाड सेक्ने गरी सरकारले यातायातमा भाडा बढाउने निर्णय गरेपछि त्यसलाई तत्काल फिर्ता गराउन दवावस्वरुप आन्दोलन शुरु गरिएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले बताए ।
अनेरास्ववियु पशुपति बहुमुखी क्याम्पस कमिटिको आयोजनामा गरिएको प्रर्दशनमा सहभागिहरुले दुई तिहाई बहुमतको सरकारले जनअपेक्षा विपरीतका काम गरेको भन्दै असन्तुष्टि जनाए । उनीहरुले जनअपेक्षा विपरीत कुनै पनि गतिविधि नगर्न सरकारलाई सचेत गराउँदै यातायातमा बढाएको १० प्रतिशत भाडादर फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।