नेपालगञ्ज : नेपालगञ्जमा नागरिकस्तरबाट करोड बढीको लागतमा निर्माण गरिको क्रियापुत्री भवन निर्माण गरिएको छ । बढ्दो सहरीकरणका कारण घरघरमा हिन्दू संस्कार अनुसारको मृत्यु सस्कार काजक्रिया कर्म गर्न असहज हुँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिका–४ को शिव पार्वती मन्दिर अगाडि किरियापुत्री भवन निर्माण गरिएको हो ।
करिब तीन कठ्ठा जग्गाभित्र एक करोड १६ लाख ६७ हजार ८ सय ८० लागतमा साढे दुई तले सुविधा सम्पन्न क्रियापुत्री भवन नागरिकस्तरबाट निर्माण गरिएको निर्माण समितिका संयोजक सेमराज शाक्यले जानकारी दिए ।
‘साढे दुई तले उक्त भवनमा पुरुष र महिला क्रियापुत्री अलग अलग बस्ने कुरुवा कोठा र प्रशासनिक प्रयोगका लागि व्यस्था मिलाइएको छ । सहरी क्षेत्रमा डेरामा बस्ने मानिसलाई क्रियाकर्मको संस्कारका काम गर्न अब सहज हुनेछ’– भावुक हुँदै उनले भने ।
उनले खासगरी कोरोना कालमा कोरोना संक्रमणबाट मृत्यु बरण गरेका मानिस र मृतकका आफन्तले भोग्नु परेको समस्याबाट अभिप्रेरित हुँदै यो अभियानको सुरुवात गरेको बताए ।


उनले भने–‘हिन्दू धर्ममा जन्म र मृत्यु संस्कार निकै महत्वपूर्ण मानिन्छ, यसै कुराको दृष्टिगत गर्दै नेपालगञ्जको बसपार्क नजिक क्रियापुत्री घर निर्माण गरेका छौँ । नागरिकस्तरबाट पहल र सहयोगबाट क्रियापुत्री भवन निर्माण गर्न सफल भएका छौँ ।’
नागरिकस्तरमा पहल लिएर निर्माण गरिएको अत्याधुनिक सुविधासहितको क्रियापुत्री भवनको आज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उदघाटन गरे । सो अवसरमा उनले किरियापुत्री भवनले दुःखद कार्यमा परेका नगरवासीलाई सहजता प्राप्त हुने विश्वास व्यक्त गरे । उनले नेपालगञ्जमा टड्कारो रूपमा किरियापुत्री भवनको आवश्यकता महसुस हुँदै आएकामा सबैको साझा प्रयास र सहभागिताबाट भवन बन्नु सराहनीय कार्य भएको बताए ।
विभिन्न क्षेत्रमा आबद्ध अगुवा समाजसेवीको पहलमा शिव पार्वती मन्दिरको जग्गामा विभिन्न दाता तथा सरकारी स्रोतको साझेदारीमा क्रियापुत्री घर निर्माण गरिएकोे निर्माण समितिका सचिव वसन्त लामिछानेले जानकारी दिए ।
नेपालगञ्ज–६ फुल्टेक्रा निवासी माधवी शाहले १० लाख प्रदान गरी पहिलो सङ्कल्पकर्ता बनेर नागरिकस्तरबाट क्रियापुत्री घर निर्माणको पहल थालेपछि सबै क्षेत्रबाट सहयोग प्रदान हुँदै आएको उनको भनाइ छ ।
नागरिकस्तरबाट निर्माण सम्पन्न भएको क्रियापुत्री भवनका लागि हालसम्म उपमहानगरपालिकाबाट पाँच लाख मात्रै सहयोग प्राप्त भएको निर्माण समिति कोषाध्यक्ष अनिता शाहले जानकारी दिइन् । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेलाई प्रशंशा पत्रले सम्मान गरिएको थियो ।