नेपालगञ्ज भन्सार कार्यालयलाई लक्ष्य भेटाउनै मुस्किल

सदरलाइन संवाददाता ११ श्रावण २०८०, बिहीबार १३:४३
 

नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयलाई तीन वर्षयता राजश्व असुलीका लागि प्राप्त लक्ष्य भेटाउन ‘फलामको चिउरा चपाउनु’ सावित भएको छ । कुनै बेला लक्ष्य भन्दा ३८ प्रतिशत बढि राजश्व असुली गर्ने उक्त भन्सारले गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्य भेटाउन त परै जाओस् लक्ष्य भन्दा ३८ प्रतिशत कम मात्र राजश्व संकलन गर्न सक्यो ।

गत आर्थिक वर्षमा नेपालगञ्ज भन्सारलाई रु २९ अर्व ३२ करोड ९५ लाख ३९ हजार राजश्व संकलनको लक्ष्य प्राप्त थियो । तर जम्मा १८ अर्व १९ करोड ६९ लाख ७५ हजार मात्रै राजश्व संकलन गर्न सक्यो । यो लक्ष्यको ६२.०५ प्रतिशत मात्रै हो । पछिल्लो एक दशकमा लक्ष्यको निरासाजनक राजश्व असुलीको यस्तो अवस्था नेपालगञ्ज भन्सारले पहिलो पटक भोगेको हो ।

जबकी आर्थिक वर्ष २०७३/७४ राजश्व संकलन प्रतिशत १ सय ३८ प्रतिशत पुगेको थियो । उक्त आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य ५ अर्व ५३ लाख थियो भने संकलनको अवस्था ७ अर्व २० करोड ७३ लाख थियो । हुन त पछिल्लो आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्यको आकार धेरै भएको पाईन्छ । एकातिर लक्ष्यको आकार धेरै र त्यसैमा उत्पन्न आर्थिक संकटले राजश्व संकलन नराम्रो गरी प्रभावित भएको भन्सार अधिकृतहरु बताउँछन् ।

गत आर्थिक वर्ष मात्रै नभई आर्थिक वर्ष २०७८/७९ मा पनि नेपालगञ्ज भन्सारले राजश्व संकलनको लक्ष्य भेटाएको थिएन । उक्त आर्थिक वर्षमा २५ अर्व २१ करोड लक्ष्य रहेकोमा २२ अर्व ३१ करोड मात्रै राजश्व संकलन भएको थियो जुन लक्ष्यको ८८.५३ मात्रै हो ।


नेपालगञ्ज भन्सारका प्रमुख नरबहादुर थापाले नीतिगत निर्णयमा गरिएका परिवर्तनका कारण भन्सार राजश्व देशैभर प्रभावित भएको बताउँछन् । सरकारले केही वस्तुहरुमा लगाएको प्रतिबन्ध र व्यवसायमा आएको गिरावट आएको हो । नेपालगञ्ज भन्सारबाट भारतवाट पैठारी हुने मुख्य मुख्य बस्तुहरुमा पेट्रेलियम पदार्थ हो ।

नेपालगञ्ज भन्सारमा असुल हुने कूल राजस्व असुलीको ठूलो मात्रा राजस्व पेट्रोलियम पदार्थ रहेको छ । भारत निकासी हुने बस्तुहरुमा खयर कत्था, कच्छ, जडिबुटि, अदुवा, सुठो आदि पर्दछन् भने तेश्रो मुलुक निकासी हुने बस्तुहरु गहुँको पीठो, ,टिमुर, रिठा, जटामसी मार्क आदि रहेका छन् ।

राजश्व लक्ष्य नराम्रो गरी प्रभावित भएपछि नेपालगन्ज भन्सारले राजश्व संकलनमा कडाई गरेको छ । उसले रु एक सय भन्दा माथिको सामान ल्याउनेलाई समेत करको दायरामा ल्याउने गरी कडाई गरिरहे पनि तस्करहरुले अवैधरुपमा सामान ल्याई नेपालगञ्जको बजारका पसलसम्म पुर्याउन छाडेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एक सय ११ हेक्टर जमिनमा वृक्षारोपण

११ श्रावण २०८०, बिहीबार १३:४३
नेपालगञ्ज : डिभिजन वन कार्यालय बाँकेले विभिन्न शीर्षक अन्तर्गत जिल्लाका एक सय ११ हेक्टर खाली जमिनमा विभिन्न जातका बिरुवा रोपेको छ । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी सहायक डिभिजन वन अधिकृत गणेश खड्काले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा जिल्लाका विभिन्न सामुदायिक वनका एकसय ११ हेक्टर खाली जमिनमा एक लाख […]