लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा छठ पर्वको शुभकामना व्यक्त

सदरलाइन संवाददाता २२ कार्तिक २०८१, बिहीबार १४:२८
 

दाङ्ग  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन । उनले छठ पर्वले सामाजिक र सांस्कृतिक एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

छठ पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले धर्म संस्कृति, रीतिरिवाज तथा चाडपर्वले आपसी सद्भाव र एकतालाई अभिवृद्धि गर्दै लगेको बताएका हुन ।

लुम्बिनी प्रदेश सरकारले मौलिक संस्कृतिहरुको संरक्षण, सम्बर्द्धन लागि योजना निर्माण गरेर कार्यान्वयनमा लगेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको लक्ष्य पुरा गर्न प्रदेश सरकारले काम गरिरहेको बताए ।

मौलिक चाडपर्वहरुले आपसी सद्भाव थप सुदृढ पार्न सहयोग गर्दै आइरहेको समेत उल्लेख गर्दै भने–‘यस पर्वले समाजमा सामाजिक र सांस्कृतिक एकता बलियो बनाउन मद्धत गरेको छ । साथै धार्मिक विविधता र सहिष्णुताको भावनाको समेत विकास गर्न मद्धत गर्दै आएको छ । समानता र सामाजिक न्यायको लागि पनि यस पर्वले सन्देश प्रवाह गर्दै आइरहेको हुदा सोही अनुसारको व्यवहार प्रदर्शन गर्न जरुरी छ । संविधानले पनि सबैप्रकारको विभेदको अन्त्य गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक एकताले समाज विकास गर्न सकिने कुरा स्पष्ट छ ।’


यस्तै मुख्यमन्त्री आचार्यले प्रकृतिको पूजा गरिने यस पर्वले समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास लिएका छन् ।

भेदभाव विना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर पूजा आराधना गरी यो चाड मनाइन्छ ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

सूर्य देवता र छठी माताको पूजा अर्चना यो पर्वको मुख्य विशेषता हो । खास गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय पहाडी तथा हिमाली जिल्लाहरूमा समेत सूर्य देवता र छठी माताको पूजा अर्चना गर्दै श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुवेतलाई १ सय ८ रनले हराउँदै नेपाल विजयी

२२ कार्तिक २०८१, बिहीबार १४:२८
नेपालगञ्ज :  युएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज भएको खेलमा कुवेतलाई किनारा लगाउँदै नेपाल विजयी भएको छ । कुवेतलाई १०८ रनले पछाडि पार्दै नेपालले लगातारको दोस्रो जित निकालेको हो । आफ्नो दोस्रो खेलमा नेपालले आज कुवेतलाई १०८ रनले पराजित गरेको हो । यसअघि पहिलो खेलमा […]