प्रधानमन्त्रीको अनुरोधमा विमान कम्पनीले तीनदिनसम्म अधिकतम मूल्यमा टिकट विक्रि नगर्ने

सदरलाइन संवाददाता १३ आश्विन २०८१, आईतवार १९:०२
 

काठमाडौ : केही दिन यता भएको वर्षातका कारण विपत्तीले सडक सञ्जालमा पुराएको क्षतिका कारण सडक असुरक्षा भएकोकारण विकल्पमा रहेको जाहाजले चर्को भाडा लिएको जनगुनासोको सुनुवाई भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस विपदको अवस्थामा विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न सामाजिक सञ्जालमार्फत अनुरोध गरेका थिए । हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरुले पहिलेको तुलनामा महङ्गो शुल्क लिएपछि जनस्तरमा चर्को आलोचना भएको थियो ।

‘एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ’–प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लखेका छन्–‘हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रु र उद्धार उडानका लागि विशेष निर्णय गरेको समेत जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेपछि विमान कम्पनीहरुले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् ।


विपत्तिको समयमा महङ्गो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा सञ्चालक सङ्घको आजको बैठकले उक्त निर्णय गरेको हो । सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको जानकारी दिए ।

उनले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरिएको बताए । यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने उनको भनाइ छ ।

हवाई भाडादर बढी लिएको चर्को आलोचना भए पनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि विपदको अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरुलाई आग्रह गरेको जनाएको छ । ‘कम्तीमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तो दरमा उपलब्ध गराउन आग्रह गरेका छौँ’– प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।

हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको हुनसक्ने उनको भनाइ छ । ‘एयरलाइन्सले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार उनीहरुले भाडा निर्धारण गर्ने चलन छ’,–उनले भने ।

हाल काठमाडौँ आउने मुख्य सडकमार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वभाविक रुपमा बढाइएको भन्दै नागरिकस्तरबाट आलोचना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपदमा लुम्बिनी प्रदेश : चारदिनमा एक करोड ४३ लाख बरावरको क्षती

१३ आश्विन २०८१, आईतवार १९:०२
दाङ : लुम्बिनी प्रदेशमा वितेको चार दिनयता भएका विपदका घटना बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षती भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा सार्वजनिक गरेको विवरण अनुसार विगत चारदिनमा घटेका विपद्का ३२ वटा घटना एक करोड ४३ लाख बराबरको क्षती भएको उल्लेख […]