गरिबी निबारणका कारण स्वरोजगार बढ्दै गरेको कार्यकारी निर्देशक केसीको दावी

८ बैशाख २०७४, शुक्रबार २०:०९
 

सदरलाइनडटकम 
८ बैशाख, नेपालगन्ज : गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले गरिबी निवारण कोषद्वारा सञ्चालित कार्यक्रमका कारण गरिबी घटाउन ठूलो मद्दत पुगेको बताएका छन् । कार्यक्रमका कारण स्वरोजगार बढ्दै गएको उनको दावी छ ।
शुक्रबार गरिबी निबारण कोष कार्यक्रम अन्तरगत बाँकेमा गठन भएका विभिन्न सांमुदायिक संस्था र संस्थाका सदस्यहरुलाई सिर्जनशिल पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले भने–‘गरिबी निवारण कोषको लगानीको कारण प्रति वर्ष २ दशमलभ ४९ प्रतिशतले गरिबी घटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।’ उनले गरिबी निवारण कोषबाट देशभरमा ३२ हजार सामुदायिक संस्थामार्फत घुम्तीकोष खडा गरेर लगानी गर्दै आएको बताए ।
‘हेर्दा सानो र थोरै लगानी भएपनि घुम्ति कोषको रुपमा सामुदायिक संस्थाका व्यक्तिहरु आफैले छनौट गरेको व्यावसाय सञ्चालन गर्दै स्वरोजगार बनाउने, बचत गर्ने बानीको विकास गर्ने र उत्पादनसंग जोडिने भएकोले कार्यक्रम नाम अनुसारको नै भएको छ’–उनले भने । उनले सामुदायिक संस्थामा बसेर आयआर्जन गर्नेसंगै तिनै संस्थाका सदस्यहरु विकासको रोल मोडलको  रुपमा चिनिदै आएको पनि  दाबी गरे ।
कोषका कार्यकारी निर्देशक केसीले कोषको लगानी बृद्धि गर्नको लागि देशभरका सबै सामुदायिक संस्थाहरुबाट माग भई आएकोले कोषले पनि यसबारेमा पहल गरिरहेको बताए । उनले वित्तिय अनुसाशन कायम गर्दै कोषले उपलब्ध गराएको घुम्तीकोषको सञ्चालन मात्र गर्न सके ठूलो परिवर्तन आउने ठोकुवा गरे ।
बाँकेमा जिल्ला समन्वय समिति र सर्मपण नेपालले गरिबी निवारणका १४ गाबिसमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । बाँकेमा रहेका १३३ सामुदायिक संस्थामध्ये ३ वटा संस्थालाई प्रति संस्था १५ हजार नगद, दुई जना सदस्यलाई जनही १२ हजार ५ सय नगद , दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समिति बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुेरलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेत, गाविस महासंघका पदम धिताल, सर्मपण नेपालका चन्द्रप्रकाश तिमिल्सेनालगायतले शुभकामना व्यक्त गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कक्षा १२ को अन्तिम परीक्षाको तयारी सकियो

८ बैशाख २०७४, शुक्रबार २०:०९
सदरलाइनडटकम  ८ बैशाख, नेपालगन्ज : राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को अन्तिम परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । बोर्डको शाखा कार्यालय कोहलपुरले शुक्रबार कार्यालय परिसरमै गरेको पत्रकार भेटका अवसरमा कार्यालय प्रमुख गीरमान थापाले कक्षा १२ को अन्तिम परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । उनले बोर्डको […]