दाङ : लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संसोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेश गरेको प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।
प्रदेश सभाको गत शुक्रवार बसेको बैठकमा पेश भको संशोधन विधेकमा ५ वटा संशोधन परेका थिए । परेका संशोधनलाई शुक्रवारै बसेको दोस्रो बैठकले प्रदेश मामिला तथा कानून समितिमा छलफलका लागि पठाउने निर्णय गरेको थियो ।
समिति सभापति दिल कुमारी बुढाको संयोजकत्वमा रहेको समितिले दफावार छलफलपछि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक प्रदेशसभाको आज बसेको पहिलो बैकमा पेश गरेका थिए ।
२०८० असारको २२ गते प्रदेश सभामा पेश भएको प्रदेश निजामती कर्मचारी विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणिकरण गरेका थिए ।
यसैविच लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशन अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारीस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारीस गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशनमा ३५ वटा बैठक बसे भने प्रदेशसभाबाट स्थानीय सेवा विधेयक, विपद व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१÷०८२ को वजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित गरेको छ ।