भूकम्पबाट हालसम्म नेपालमा मानवीय तथा भौतिक क्षतिको सूचना छैन

सदरलाइन संवाददाता २३ पुष २०८१, मंगलवार १२:१६
 

नेपालगञ्ज : मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ । शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालले भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के–कति क्षति भयो भन्ने एकीन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण सङ्कलन गर्ने काम सुरु भइसकेको जानकारी दिए ।

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भूकम्पबाट अहिलेसम्म भौतिक तथा मानवीय क्षतिको सूचना नआएको जानकारी दिए । उनले भने,–‘स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको छ ।’


सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पको ठूलै धक्का महसुस भएको बताए । सगरमाथा बेसक्याम्पतर्फ अलि बढी जोखिम रहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी विवरण लिने काम भइरहेको उनले जानकारी दिए ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले भूकम्पबाट मानवीय र भौतिक क्षति के कति भयो यसका लागि सुरक्षा निकायलाई परिचालन गरिसकेको बताए । भोजपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण बस्नेतले भूकम्पको धक्का महसुस भएको बताए ।

उनले यसबाट जिल्लामा के–कस्तो क्षति भएको छ विवरणका लागि स्थानीय तह, प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिसकेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिब्बत भूकम्प अपडेटः कम्तीमा ३६ जनाको मृत्यु

२३ पुष २०८१, मंगलवार १२:१६
काठमाडौं :  चीनको तिब्बत स्थित दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर आज विहान गएको भूकम्पमा परी हालसम्म चीनमा ३६ जनाको मृत्यु भएको चाइना ग्लोबल टेलिभिजन नेटवर्क सिजिटिएनले जनाएको छ । अमेरिकी भौगर्भिक सर्भेक्षणले तिब्बतमा गएको भूकम्प ७ दशमल १ म्याग्निच्युड रहेको जनाएको छ । तर सिजिटिएनले भने ६ दशमलब ८ म्याग्निच्युडको भूकम्प […]