काठमाडौं : रूसले आक्रमण गरिरहेको देश युक्रेनमा रहेका नेपाली सुरक्षित रहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । युक्रेनलाई समेत हेर्दै आएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले अहिलेसम्म एक सय ९३ जना नेपाली सम्पर्कमा आएको जनाएको छ ।
युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको आकलन छ । रुसले युक्रेनको पूर्वि र उत्तरी क्षेत्रबाट आक्रमण गरिरहेको छ । विशेष गरी राजधानी किइभलाई लक्षित गरेर हवाइ र स्थल आक्रमण गरिरहेको छ । पश्चिम क्षेत्र सुरक्षित भएकाले त्यतातिर जान दूतावासले आग्रह गरेको छ ।
त्यस्तै युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड वा हंगेरीतर्फ जान पनि नेपाली दूतावासले आग्रह गरेको छ । रुसले आक्रमण गरेपछि युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हंगेरीले नाका खुला गरेको छ । हजारौं युक्रेनी नागरिक पनि ति देशतर्फ गइरहेका छन् ।