पश्चिम नेपालका थारु समुदायमा सोमबारदेखि अष्टिम्की पर्व मनाइँदै

सदरलाइन संवाददाता १० भाद्र २०८१, सोमबार १९:३१
 

नेपालगञ्ज  : पश्चिम नेपालको बाँकेसहित आसपासका जिल्लामा बसोबास गर्ने थारु समुदायमा आज सोमबार अष्टिम्की पर्व मनाइँदै छ । श्रीकृष्ण जन्माष्टमीको दिनदेखि दुई दिनसम्म अष्टिम्की पर्व मनाउने चलन रहेको छ ।

यो पर्वमा विशेषगरी महिला दिदीबहिनीहरु दिनभरी पानी समेत नखाइ निराहार व्रत बस्ने गरेको जनाइएको छ । व्रतालुहरु साँझपख नुहाइ–धुवाइ गरी घरको भित्ता वा डेहरी (अन्न राख्ने माटोको भकारी) मा परम्परागत तरिकाले बनाइएको अष्टिम्कीमा पूजासहित टीका लगाएर फलफूल, पानी खाने गरिन्छ । यसलाई अष्टिम्की टिक्ना भनिन्छ ।

पर्वको दोस्रो दिन व्रतालुले नदी खोलामा गएर सामूहिक रुपमा अष्टिम्की सेलाउने गर्छन् । अष्टिम्की सेलाएपछि मात्र पूजाआजा गरेर उनीहरुले भातसहित खरिया, फुलौरीलगायत विभिन्न परिकार खाने गरेका छन् । यसलाई फल्हार भन्ने गरिएको थारू अगुवाहरुको भनाइ छ । फल्हारको दिन व्रतालुले खानाका सबै परिकार एक भाग निकालेर मात्र खाने गर्छन् ।


यसरी निकालेर राखेको भागलाई उपहारको रुपमा आफ्नो विवाहित छोरीचेलीलाई अग्रासन (उपहार) को रुपमा दिने चलन छ । माइती पक्षको अग्रासन पाएपछि विवाहित छोरीचेली खुशी हुनेगरेको बताइन्छ ।

विवाहित महिलाले आफ्नो पतिको दीर्घायु र अविवाहितले राम्रो पति पाउनका लागि अष्टिम्कीको व्रत बस्ने गरेको थारु ठन्हवाका अध्यक्ष समेत रहे नेपालगञ्जका विश्वराज पछल्डङ्ग्याले बताए । अष्टिम्कीको व्रत बसेमा मनोकामना पूरा हुने जनविश्वास रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माजोङ्ग क्यासिनो नेपालगञ्जद्वारा रक्तदान कार्यक्रमको आयोजना

१० भाद्र २०८१, सोमबार १९:३१
नेपालगञ्ज : बाँकेमा उपचारको लागि रगतको अभाव हुन नदिने उद्देश्यले सोल्टी होटल नेपालगञ्जमा सञ्चालनमा रहेको माजोङ्ग क्यासिनोले बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपालगञ्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्टले सो कार्यक्रमको उद्दघाटन गर्दै नेपालगञ्ज तथा बाँकेका विभिन्न अस्पतालहरुमा उपचारको लागि रगतको अभाव नहोस भन्ने उद्देश्यले माजोङ्ग क्यासिनोले रक्तदान कार्यक्रमको आयोजना […]

सम्बन्धित