स्ट्रीट लाइटले नेपालगञ्ज झलमल्ल

सदरलाइन संवाददाता ६ कार्तिक २०८०, सोमबार १५:२४
 

नेपालगञ्ज : नेपालगञ्जको सडकमा स्ट्रीट लाइट (सडक बत्ती) बल्न शुरु गरेको छ । सडक बत्तीले गर्दा रातिको समयमा नेपालगञ्जको मुख्य सडक झलमल्ल भएको छ । केहि दिन अघिदेखि सञ्चालनमा आएको सडक बत्तीले रातिको समयमा नेपालगञ्जको मुख्य सडक झलमल्ल भएको हो ।

रत्न राजमार्गको जमुनाहा–राँझा–कोहलपुरसम्मको सडक खण्डमा सडक बत्ती जडान कार्यका लागि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले २०७९ भदौ ४ गते शिलान्यास गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले पूर्वमन्त्री राईको पहलमा सङ्घीय सरकारको बजेटबाट नेपालगन्जमा सडक बत्ती, ट्राफिक लाइट, हाइमास्ट लाइट, ओभरहेड ब्रीज लगायतका महत्वकांक्षी योजनाहरु निर्माणका लागि बजेट विनियोजित भएको र ती सम्पूर्ण योजनाहरु निर्माणका लागि ठेकेदार कम्पनीमार्फत टेण्डर प्रक्रिया भई काम शुरु भएको बताए ।

उपप्रमुख राईले ती योजनाहरुमध्ये हाइमास्ट लाइट जडान भइसकेको, सडक बत्ती हालसालै बलिसकेको, ट्राफिक लाइट जडानको काम अन्तिम चरणमा पुगेको बताए ।


पूर्वमन्त्री राईले नेपालगञ्जलाई रातिको समयमा सडक बत्तीले झलमल्ल पार्ने उद्देश्य अनुरुप तत्कालीन समयमा सडक बत्ती लगायत अन्य योजनाहरुका काम अगाडि बढाइएको बताए । “नेपालगञ्जको पूर्वमा सिधनिया (राप्ती पूल), पश्चिममा बर्दिया, उत्तरमा भारतसँगको सिमा जोडिएको जमुनाहा र दक्षिणमा कोहलपुरसम्मको मुख्य सडकमा सडक बत्ती बाल्ने योजना हो, अहिले पहिलो चरणमा जमुनाहादेखि कोठारपुरसम्मको सडकमा सडक बत्ती जडान भएर बलिसकेको छ ।” पूर्वमन्त्री राईले भने ।

नेपालगञ्जको पुष्पलालचोकदेखि सिधनियासम्मको सडक बत्ती जडान कार्य पनि धमाधम भइरहेको उनले जानकारी दिए । “मेरो कार्यकालमा शुरु गरिएका योजनाहरु केही सम्पन्न भइसकेका छन्, केही अन्तिम चरणमा छन् भने ओभरहेड ब्रीज (आकासे पुल)को काम भने हुन सकेको छैन ।” पूर्वमन्त्री राईले भने, “ओभरहेड ब्रिज बनाउने स्थानमा खाडल खन्नका लागि स्थानीयले अवरोध गरेपछि सो काम अझै अगाडी बढ्न सकेको छैन, विस्तारै उक्त योजना पनि सम्पन्न हुनेछ ।”

नेपालगञ्ज गुलरीया चारलेन सडकखण्डको निर्माणको कार्य जारी रहेको हुँदा सँगसँगै सडक बत्ती जडानको काम र साइकल लेनको कार्य पनि भइरहेको उनले जानकारी दिए ।

रातिमा सडक बत्तीको उज्यालोमा हिँड्न पाउँदा सर्वसाधारण खुशी भएका छन् । नेपालगञ्ज १० सुर्खेत रोडमा व्यवसाय गरेर बस्ने रीता गुरुङले रातिमा सडक बत्ती बल्दा नेपालगञ्जको दृष्य अत्यन्तै सुन्दर देखिएको बताइन् । गुरुङले सडक उज्यालो हुनाका साथै नेपालगञ्जको सौन्दर्यीकरण पनि बढेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भन्सार छलीका सामानसहित सात जना नियन्त्रणमा

६ कार्तिक २०८०, सोमबार १५:२४
बर्दिया : बर्दियाबाट प्रहरीले एक लाख ७४ हजार बराबरको सामान बरामद गरेको छ । बर्दिया गुलरिया नगरपालिका ७ भन्सार रोडस्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको सो रकम बराबरको सामान जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले फलफुल तथा तरकारी र सो कार्य […]