शान्ति प्रकृयालाई निष्कर्षमा पुराउन सबैको साथ र सहयोग आवश्यक : प्रधानमन्त्री ओली

सदरलाइन संवाददाता २३ श्रावण २०८१, बुधबार १९:५३
 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पीडादायी विगतलाई शान्तिमा बदल्ने प्रतिबद्धता  व्यक्त  गरेका छन् । उनले शान्ति प्रकृयालाई निष्कर्षमा पुराउन सबैको साथ र सहयोग आवश्यक रहेको औल्याए ।

बुधबार सत्य निरूपण तथा मेलमिलाप (टीआरसी) विधेयकको विवादका वषयमा शीर्ष राजनीतिक दल बिच सहमति जुटेपछि प्रधानमन्त्री ओलीले नेपाललाई शान्त बनाउन सबैलाई सहयोग गर्न आह्वान गरेका छन ।

यसमा सरकार सबैसँग सहकार्य गरेर अघि बढ्ने पनि ओलीले प्रतिबद्धता व्यक्त गरे । ‘पीडादायी विगतलाई हामी शान्तिमा बदल्ने छौँ, नेपाललाई शान्त बनाउन सबै पक्षको साथ र सहकार्य जरुरी छ, सहकार्यका साथ हामी अघि बढ्ने छौँ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।


उनले हिंसात्मक द्वन्द्वलाई अन्त्य गरी बृहत् शान्ति सम्झौता भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा आज मुख्य दलहरूबिच सहमति जुटेको उल्लेख गर्दै अब यसलाई चाँडै अन्तिम टुङ्गोमा पु¥याउने बताए । ‘हिंसात्मक द्वन्द्वलाई अन्त्य गरी बृहत् शान्ति सम्झौता भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा आज मुख्य दलहरूबिच सहमति भएको छ, संसद्को यसै अधिवेशनबाट विधेयक पारित भएपछि त्यस अनुरूपका आयोग बन्नेछन’, ओलीले लेखेका छन् ।

बुधबार सत्य निरूपण तथा मेलमिलाप (टीआरसी) विधेयकको विवादका विषयमा सहमति जुटाउन बनेको कार्यदलले शीर्ष नेताहरूलाई सहमतिको प्रतिवेदन बुझाएको छ । कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यदलले प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

प्रतिनिधि सभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो । कार्यदलमा नेपाली कांग्रेसबाट गृह मन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका थिए ।

प्रस्तावित विधेयकमा मानव अधिकारको गम्भीर उलङ्घन, मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरूको क्षतिपूर्ति, सजायका विषयमा सहमति निकालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका स्थानीयतहको सडकबत्ति बक्यौता करिव तेईस करोड

२३ श्रावण २०८१, बुधबार १९:५३
नेपालगञ्ज  :  बाँकेका स्थानीय तहले सडक बत्ति प्रयोग गरे वापत करिव २३ करोड विद्युत बक्यौता तिर्न बाँकी रहेको पाईएको छ । जिल्लाका आठै वटा स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत २२ करोड ८५ लाख ३१ हजार ८५ रुपियाँ बक्यौता तिर्न बाँकी देखिएको हो । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिरे कुनै […]