पार्टी निर्माणमा लाग्न एमाले महासचिव पोख्रेलको निर्देशन 

सदरलाइन संवाददाता १५ श्रावण २०८१, मंगलवार १८:४३
 


दाङ्  : नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले पार्टी निर्माणमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेकपा (एमाले) दाङको बैठकलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले भने–‘एमालेका नेता कार्यकर्ताहरुको काँधमा समृद्ध मुलुक निर्माण गर्ने दायित्व थपिएको छ । यही दिशामा लाग्नुहोस् ।’
पार्टीलाई जनतासँग जोड्ने अभियानलाई तीब्र बनाउँदै लैजान निर्देशन दिँदै महासचिव पोख्रेलले एमालेलाई जनताको रोजाइको पहिलो पार्टी बनाउनतर्फ सबै लाग्नुपर्ने बताए । ‘जनमतको हिसावले मुलुकको पहिलो पार्टी हुँदाहुँदै पनि प्राविधिक कारणले एमाले दोस्रो पार्टी बनेको छ । एमाले नेता कार्यकर्ताहरुले यो कुरा कहिले पनि भुल्नु हुँदैन’, महासचिव पोख्रेलले भने, ‘विगतका कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नु पर्दछ । नमिलेका कुरालाई मिलाउँदै रोकिएको पार्टी निर्माणको गतिलाई अगाडि बढाउनुपर्दछ । तपाईँहरु आजैबाट यो कार्यमा लाग्नुहोस् ।’
एमालेलाई उथलपुथल नभई विकास चाहिएको भन्दै महासचिव पोख्रेलले उथलपुथलका नाइके प्रचण्डसँगको सहकार्य तोडेर नयाँ यात्रा प्रारम्भ गरेको बताए । प्रचण्डले सुरु गरेको अस्थिरताले मुलुक झन्पछि झन् कमजोर बन्दै गएको महसुस गरी कांग्रेससँग सत्ता सहकार्य गरेको महासचिव पोख्रेललको भनाइ थियो ।
‘प्रचण्डले बिजारोपण गरेको अस्थिरताले मुलुक झनपछि झन् संकटग्रस्त बन्दै गएकाले एमालेले नयाँ विकल्प खोजेको हो’, महासचिव पोख्रेलले भने, ‘विकास र समृद्धिको यात्रालाई प्रचण्डले बोक्न सक्नुभएन । उहाँ उथलपुथलको नायक बन्नुभयो । जसकारण नेपाली राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाएका छौं ।’
जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकमा पोलिटब्युरो सदस्यहरु शुजिता शाक्य, नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चेतनारायण आचार्यलगायतका केन्द्रीय र प्रदेशका नेताहरुको उपस्थिति रहेको थियो ।
 जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सञ्चालन सचिव श्याम डाँगीले गरेका थिए । बैठकले विभिन्न जिम्मेवारी तोकेको छ ।
जसमध्ये स्कुल विभागमा राममणि पाण्डे, प्रचार तथा प्रकाशन विभागमा संगीत बस्याल, स्थानीय संघसंस्था विकास विभागमा मानबहादुर रावत, निर्वाचन विभागमा विवेक श्रेष्ठ, संगठन विभागमा श्याम डाँगी, वित्त तथा कोष व्यवस्थापन विभागमा सानुनारायण अधिकारी र सहकारी तथा गरिबी निवारण विभागमा अमर खड्का रहनुभएको प्रचार तथा प्रकाशन विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए ।
 उनका अनुसार बैठकले निर्वाचन क्षेत्र संयोजकको समेत जिम्मेवारी तोकेको छ । जसअन्तर्गत क्षेत्रनम्वर १ मा सहजराम यादव, २ मा सुदन केसी र ३ मा मेघराज भुसाललाई संयोजक तोकिएको छ । बैठकले जिल्ला सयवटा वडा इञ्चार्ज, जनसंगठन इञ्चार्जसमेत तोकको छ । बैठकले २४ जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारी–१ मा सरवर नचल्दा सेवाग्राहीलाई सास्ती

१५ श्रावण २०८१, मंगलवार १८:४३
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउपालिका वडानं १ मा सरवरमा आएको समस्याका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई आफ्नो विवरण नविकरण गराउनमा निक्कै सास्ती खेप्नु परेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडान १ मा सरबर समस्याका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्रहीको अवस्था अध्यावधिक गर्न कठिनाई भएको सेवाग्राही रामजाल […]