भक्तिभाव पूर्वक श्रीकृष्ण जन्माष्टमी मनाईंदै

सदरलाइन संवाददाता ३ भाद्र २०७९, शुक्रबार १३:००
 

नेपालगञ्ज : ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व शुक्रवार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईंदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।


कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

यसै अवसरमा शुक्रवार वागेश्वरी मन्दिर परिसरमा रहेको प्रसिद्ध कृष्णमन्दिरमा भक्तजनहरुको भिड लगेको छ । नेपालगञ्जमा रहेका सबै कुष्णमन्दिरमा भक्तजनको भीड लागेको छ ।

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेको छ । यस पर्वका अवसरमा विगतमा काटिएको सार्वजनिक बिदालाई सरकारले फेरि निरन्तरता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको जानकी गाउँपालिकामा वृक्षारोपण

३ भाद्र २०७९, शुक्रबार १३:००
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले शुक्रवार वृक्षारोपण गरेको छ । वातावरण तथा विपद् ब्यवस्थापन शाखाको आयोजनामा जानकी गाउँपालिकाको मानपुरमा बिरुवा लगाऔं, वातावरण बचाऔं भन्ने मुल नाराका साथ वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा वोल्दै पालिकाका अध्यक्ष छब्बन खाँले रुख विरुवा नै मानवको जिवन भएको बताउँदै वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने बताए […]