लुम्बिनीमा सम्भावित मन्त्रीको सूचीमा पर्न दौडधुपमा लागेका प्रदेशसभा सदस्यहरु

सदरलाइन संवाददाता ८ श्रावण २०८१, मंगलवार १५:२२
 

नेपालगञ्ज  :  नयाँ गठन हुने लुम्बिनी प्रदेश सरकारको मन्त्रीमण्डलमा आफुलाई पार्न प्रदेश सांसदहरुको दौडधुप पार्टीको शक्तिकेन्द्रमा व्यापक छ ।

सोमबार नै मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएसँगै नेपाली कांग्रेस र नेकपा एमालेभित्र मन्त्री छनोटको गृहकार्य हुँदै गर्दाको लिगलिगे दौडमा प्रदेश सभा सदस्यहरु व्यापक सहभागि भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले बुधबार बिहान मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई शपथ ग्रहण गराउने योजना अनुसार अहिले कांग्रेस र एमालेका नेताहरू मन्त्री छान्न व्यस्त छन् ।

मन्त्रीका आकाङ्क्षी सांसदहरूले पनि पार्टीभित्र आन्तरिक लविङ तीव्र पारेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी प्रदेशमा मन्त्री बनाउने विषयमा केन्द्रीय सभापति शेरबहादुर देउवासँग छलफल गर्न काठमाडौँ पुगेका छन् ।

उसो त उनी आफै मुख्यमन्त्रीको लागि लविङ्गमा थिए । भागबन्डामा प्रदेश नै एमालेको भागमा परेपछि प्रदेस सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल गरेर फर्कने भएका हुन ।

एमालेबाट मुख्यमन्त्रीमा बनेका चेतनारायण आचार्यले पार्टीभित्रबाट को–को लाई मन्त्री मण्डलमा लैजाने भन्ने विषयमा नेताहरूसँग छलफल भइरहेको बताए । उनले अझै निर्णय नभएकाले बुधबार बिहान शपथ ग्रहण गर्नुभन्दा अगाडि सूची सार्वजनिक गर्ने जानकारी दिए ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्री रहने व्यवस्था छ


कांग्रेस, एमालेबिच भएको सहमति अनुसार एमालेले मुख्यमन्त्रीसहित ६ मन्त्रालय र कांग्रेसले ६ वटा मन्त्रालय पाउनेछन् । एमालेबाट मुख्यमन्त्री आचार्य नियुक्त भईसकेपछि अव सम्भावित ५ मन्त्रीहरूको लागि सूची लामो छ । एमालेमा यसअघि मन्त्री बनेका मध्येबाटै धेरैलाई दोहो¥याउने सम्भावना रहेको एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताउछन् ।

अहिले एमालेबाट मन्त्री बन्ने सम्भावना रहेकाको सूचीमा विष्णु पन्थी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, दिनेश पन्थी, खेम सारु, तुलसीप्रसाद चौधरी, बसन्ती न्यौपाने अधिकारी, रत्नबहादुर खत्री, दुर्गा चौधरीलगायत छन् । लुम्बिनी प्रदेशमा एमालेका १८ प्रत्यक्ष र ११ समानुपातिक गरी २९ सांसद छन् ।

यसैगरी नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता चौधरीले साना दलहरूलाई सरकारमा ल्याउने विषयमा पनि छलफल चलिरहेकाले कांग्रेस र एमालेले पाउने मन्त्रालय कटौती गरेर साना दललाई दिने योजना रहेको खुलाए ।

कांग्रेसभित्र सचेतक जन्मजय तिमसेना, धनेन्द्र कार्की, राजु खनाल, अब्दुल रज्जाक, निमा गिरी, जमुना ढकाल, माया पुन, प्रचण्ड विक्रम न्यौपाने, देवी चौधरी, सरोज थापा (रोज राणा), बसिउद्दिन खाँन, भुवनेश्वर चौधरी, वीरबहादुर राना, अनुराग खड्काले मन्त्री बन्ने आकाङ्क्क्षाका साथ लविङ गरेका छन् ।

यीमध्ये राजु खनाल, बसिउद्दिन खाँन, सरोज थापा (रोज राणा), वीरबहादुर राना यसअघि पनि मन्त्री भएका हुन् । यस्तै अब्दुल रज्जाक यसअघि सङ्घीय सांसद तथा पूर्वखानेपानी राज्यमन्त्री हुन् ।

पार्टीले सङ्घबाट प्रदेशमा झारेपछि उनलाई सरकारमा जाने अवसर दिएको छैन । त्यस कारणले अहिले रज्जाक मन्त्री बन्नसक्ने सम्भावना रहेको कांग्रेस सांसदहरू बताउँछन् । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको १७ प्रत्यक्ष र १० समानुपातिक गरी २७ सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओली घटनाको जानकारी लिन त्रिभुवन विमानस्थल जाँदै

८ श्रावण २०८१, मंगलवार १५:२२
काठमाण्डौ :  काठमाण्डौबाट पोखराको लागि उडान भरेको सौर्य एयरको विमान दुर्घटना भएको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थलमा घटनाको जानकारी लिन जान लागेका छन् । बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भएको थियो । त्यस क्रममा १८ जनाको मृत्यु […]