एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

सदरलाइन संवाददाता ३१ असार २०८१, आईतवार १९:०९
 

नेपालगञ्ज :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन ।

गत शुक्रबार तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वास गुमाएसँगै राष्ट्रपतिले शुक्रबारै बहुमतीय सरकार गठनका लागि प्रधानमन्त्रीमा दावी पेश आह्वान गरेका थिए ।

नेकपा एमाले र नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको मात्र दावी पेश भएको थियो । सोमबार (भोलि) विहान ११ बजे सपथको कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष ओली यो सहित चौथोपल्ट प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गर्दै छन् । असार १७ गते राति भएको सात बुँदे सहमतिले काँग्रेस–एमालेविच छैठौं सत्ता सहकार्यको ढोका खोलेसँगै ओलीले प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्ने भएका हुन ।

अध्यक्ष ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन् । नेकपा (एमाले)का वर्तमान अध्यक्ष ओली विभिन्न समयमा मुलुकको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भैसकेका छन् । ओली २०७२ असोज २४ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए ।


यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका हुन । उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ०७८ वैशाख ३० मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिईन ।

अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमाभित्र राख्न असमर्थ भएपछि ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गरिएको थियो ।

नवनियुक्त प्रधानमन्त्री ओली २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । २०७१ साउन १ मा भएको नेकपा एमालेको नवौं राष्ट्रिय मधिवेशनबाट तत्कालिन बरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित ओली २०७८ मङ्सिर १० गते चितवनमा भएको दशौँ राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका थिए ।

बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते तेह्रथुमको इवा गाउँमा उनो जन्म भएको थियो । विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । वि.सं २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक उनी त्यही वर्ष जेल परेका थिए ।

ओली तत्कालिन नेकपा (माले)को संस्थापक मध्येका एक हुन । पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरे । २०४४ मा जेलमुक्त भएपछि उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)को केन्द्रीय समिति सदस्य र २०५४ सम्म लुम्बिनी अञ्चलको इन्चार्ज बनेका थिए ।

नवनियुक्त प्रधानमन्त्री ओलीले आफ्नो एउटा लेखमा भनेका छन्– ‘जे कल्पना गरेका छौं, त्यसका लागि हरेक दिन एक पाइला अगाडि बढाऊ । पाइला कति अघि बढ्यो होइन, पाइला चालियो कि चालिएन भन्ने कुरा हेक्का गर ।’ उनकै शब्दमा उनको जीवन यही दर्शनमा बाँचेको छ । उनी भन्छन–‘तिमी खुसी भए देश सुखी हुनेछ । जसरी तिमी खुसी हुन तिमीले गर्छु भनेको काम गर्नुपर्छ, त्यसैगरी देश सुखी पनि देशले गर्छु भनेको काम पूरा गर्नुपर्छ ।’ आफ्नो ध्यान यसैमा केन्द्रित भएको उनको भनाइ छ । तर अब आम नेपालीको ध्यान भने नवनियुक्त प्रधानमन्त्री ओलीतर्फ केन्द्रित हुने कुरामा दुई मत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवनियुक्त सञ्चारमन्त्री गुरुङद्वारा पदभार ग्रहण

३१ असार २०८१, आईतवार १९:०९
काठमाडौँ  : सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गरेका छन । उनले नयाँ सञ्चारमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसामु शपथ लिए लगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन । नेकपा (एमाले) का नेता गुरुङ लमजुङबाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन । उनी गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री समेत […]