आर्थिक चलखेलमा विद्यालय सञ्चालन र स्थानन्तरण अनुमति, व्यापक आलोचना

सदरलाइन संवाददाता ३ बैशाख २०८१, सोमबार ०७:४२
 

कोहलपुर (बाँके) : कोहलपुरमा नगर शिक्षा शाखाले आफैले जारी गरेको शिक्षा कार्यविधिको बरखिलाप हुने गरी निजी तथा संस्थागत विद्यालयलाई सञ्चालन तथा ठाउँसारीको अनुमति दिएको पाइएको छ ।

नगर शिक्षा शाखाले नेपालगञ्ज–१२ मा दर्ता भई करिव १० वर्षदेखि झोलामा सञ्चालनमा रहेको ब्राईट फ्युचर एकेडमीलाई नाम परिवर्तनसहित कोहलपुर नगरभित्र सञ्चालन गर्न पाउने गरी कक्षा ८ सम्म सञ्चालनको अनुमति दिएको छ ।

यसैगरी कोहोलपुर नगरपालिका–५ मा सञ्चालन भए पनि विगतका केही वर्षदेखि बन्द रहेको एस मदरल्याण्डलाई पनि नाम परिवर्तन र ठाउँसारीको स्वीकृत दिएको पाइएको छ ।

ब्राईट फ्युचरले कोहोलपुर मोडेल एकडमी नाम राखेर कक्षा ८ सम्म सञ्चालन गर्ने गरी स्वीकृत लिएको छ भने एस मदरल्याण्डले युरो स्कुलको नामबाट कक्षा ५ सम्मको अनुमति लिएर सञ्चालनको तयारीमा रहेको हो । तर, यी दुबै विद्यालयले अनुमति लिएको तह भन्दा माथिल्लो कक्षामा भर्ना समेत लिएको स्रोतले जनाएको छ ।

कोहोपुर नगरकार्यपालिकाद्वारा पास गरी राजपत्रमा समेत प्रकाशित गरेको कोहलपुर नगरशिक्षा कार्यबिधीमा कोहलपुर नगरक्षेत्रभित्र कुनै पनि निजी तथा संस्थागत शैक्षिक संस्था आफ्नै घरजग्गा बाहेक अनेत्र स्थान्त्रण, र नामसारी गरेर सञ्चालन गर्न नपाउने उल्लेख छ । सो विषयमा आधिकारिक धारणा लिनको लागि कोहलपुर नगर शिक्षा शाखा प्रमुख रामबहादुर हमाललाई पटक–पटक सम्पर्क गर्दा उनको फोन उठेन ।

यसैबीच विद्यालय ठाँउसारी वा सञ्चालन गर्नको लागि कोहलपुर वडानं. १० वडा कार्यालयबाट सहमती नलिएको सो वडाका वडा अध्यक्ष गौरादेवी भट्टराईले बताईन ।


यसैबीच विद्यालय ठाउँसारीको विषयलाई लिएर बालज्योती माध्यामिक विद्यालय कोहलपुरले आफ्नो विद्यालयको क्षेत्राधिकार भित्र अर्को विद्यालय स्थानन्तर गर्न नदिन ध्यानाकर्षण पत्र बुझाएको बालज्योति माध्यामिक विद्यालयका संस्थापक लक्ष्मीदेवि सुवेदीद्वारा प्रेशित ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

‘हामं्रो विद्यालय नजिकै कोहलपुर मोडल कलेजले नेपालगञ्ज उपमहानगरपालिकामा १० वर्षअघि सञ्चालन भएको र विविध कारणले बन्द रहेको ‘झोले’ विद्यालय कोहलपुरमा स्थानान्तरण गरी सञ्चालन गर्नका लागि कोहलपुर नगरपालिका नगर शिक्षा शाखामा अनुमतिका लागि आवेदन दिएको र हाल कोहलपुर नगर शिक्षा शाखाले स्थानान्तरण अनुमति दिएको जानकारीमा आएको छ । शिक्षा शाखाले गरेको यो निर्णयले कोहलपुर नगरपालिकाको विद्यालय स्थापना, कक्षा थप, नामाकरण, स्थानान्तरण र समायोजन कार्यविधि २०७८ लाई उल्घन गरेकोछ ’– ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

यसैगरी सो कार्यविधिको विद्यालय स्थानान्तरण सम्बन्धी दफाको उपदफा २ मा ‘साबिकमा जग्गा वा भवन भाडामा लिई सञ्चालन हुँदै आएका विद्यालयहरूले आफ्नो भवन वा जग्गामा विद्यालय स्तानान्तरण गर्न निवेदन दिने सक्ने छन् तर नगरपालिका क्षेत्रको कुनै पनि ग्रामीण इलाकाबाट शहरी क्षेत्रमा तथा अन्य स्थानीय तहहरूबाट कोहलपुर नगरपालिका भित्रका कुनै पनि क्षेत्रमा विद्यालय स्थानान्तरण गर्न अनुमति दिइने छैन भनिएको छ ।

यस्तै सोही दफाको उपदफा ३ मा कम्पनी स्थानान्तरणका आधारमा विद्यालय स्थानान्तरण दिइने छैन भनी प्रस्ट उल्लेख गरिएको छ । कोहलपुर क्षेत्रमा कुनै नयाँ विद्यालय सञ्चालन गर्न चाहिने संस्थागत विद्यालय सञ्चालन निर्देशिका अनुसूची – १ को ‘नक्साङ्न’ र कोहलपुर नगरपालिकाले विद्यालयसम्बन्धी बनाएका अन्य नियम अनुसार पनि यो निर्णय नियमसंगत छैन । कोहलपुर नगरपालिका र नगर शिक्षा शाखाले हालै झोले विद्यालयलाई स्थानान्तरण अनुमति दिएको जानकारीमा आएकाले यो निर्णयप्रति हाम्रो गम्भीर असहमति र आपति छ ।’

यसअघि पनि हाम्रो विद्यालयले सो विद्यालयलाई स्थानान्तरण अनुमति नाउन मिति २०८० माघ २३ गते च.न. १३५ को कोहलपुर नगरपालिका तथा कोहलपुर नगर शिक्षा शाखालाई विद्यालय स्थानान्तरण नगर्न ध्यानाकर्षक पत्र पठाएको पुनः स्मरण गराउछौं । अतः आफैले बनाएको नियम, कानुन र कार्यविधि विपरीत गरिएको यो निर्णय तुरुन्त बदर गर्न हाम्रो विद्यालय जोडदार माग गर्दछौ’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

शिक्षा शाखाले आर्थिक चलखेल गरी सो अनुमति दिएको भन्दै अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागढुंङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ हुँदै

३ बैशाख २०८१, सोमबार ०७:४२
काठमाडौँ :  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ । सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो १ बजे सहभागी हुने जनाइएको छ । चन्द्रागिरी नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ […]