कांग्रेस बाँकेले सम्झियो पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसादलाई

सदरलाइन संवाददाता ७ चैत्र २०८०, बुधबार १६:४४
 

नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसको अवसर पारेर भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीलाई फलफूल वितरण गरेको छ ।

फलफूल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीले नेपाली राजनीतिमा कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गर्दै उनलाई शान्ति नायकका रुपमा चित्रण गरिनु पर्ने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रका नायक कोइरालाले सुरु गरेको शान्ति प्रक्रियालाई दिगोरुपमा व्यवस्थापन गर्नु पर्नेमा उनको जोड छ । गिरिजाप्रसाद कोइरालामा जस्तो दृढ राजनीतिक इच्छाशक्ति अहिलेको पुस्तामा पनि आवश्यक रहेको अधिकारीको भनाई थियो ।

कार्यक्रममा उपसभापति कृष्णबहादुर कार्की, भेरी अस्पतालका अध्यक्ष विरेन्द्रबहादुर शाह, प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. पवनजंग रायमाझी लगायत कांग्रेस नेता कार्यकर्ता उपस्थित रहेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।


भेरी अस्पतालमा उपचाररत सय जना विरामीलाई फलफूल वितरण गरिएको नेपाली कांग्रेस बाँकेका कार्यालय सचिव अमित कँडेलले जानकारी दिए ।

गिरिजाप्रसाद कोइराला भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि.स. १९८१ असार १८ मा जन्मेका हुन् । गिरिजाप्रसाद कृष्णप्रसाद कोइराला तथा दिव्या कोइरालाका कान्छा छोरा हुन् ।

उनको जन्म हुँदा उनका बुबा–आमा निर्वासित जीवन बिताइरहेका थिए । उनी चार पटक नेपालको प्रधानमन्त्री भएका थिए । उनका दुई दाजुहरू विपी कोइराला तथा मातृकाप्रसाद कोइराला पनि नेपालका प्रधानमन्त्री भएका थिए ।

कोइरालाको निधन २०६६ साल चैत्र ७ गते ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो । सशस्त्र संघर्ष गरिरहेको नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई एक निर्भिक र निडर नेताका रूपमा लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाटेबाघको छालासहित एक नेपालगञ्जमा पक्राउ

७ चैत्र २०८०, बुधबार १६:४४
नेपालगञ्ज : बाँके प्रहरीले दुर्लभ पाटे बाघको छाला सहित १ जनालाई नेपालगञ्जबाट नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । प्रहरीले नेपालगञ्ज–२ पुष्पलाल चोकमा रहेको होटल रोयल महाबुबमा दुर्लभ पाटेबाघको छालाको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलिले सो पाटेबाघको छाला बरामद गर्न सफल […]

सम्बन्धित