भेरी अस्पतालमा छैन रेबिजविरुद्धको खोप

सदरलाइन संवाददाता १८ भाद्र २०८०, सोमबार १३:२२
 

नेपालगञ्ज : भेरी अस्पतालमा रेविज विरुद्धको खोपको अभाव भएको छ । एक महिनादेखि खोपको अभाव भएपनि समस्या सल्टिन सकेको छैन । अस्पताल प्रशासनले भने हप्ता दिनदेखि मात्र खोप अभाव भएको दावी गरेको छ । खोपको अभाव हुँदा बिरामी मर्कामा परेका छन् ।

कुकुरले टोकेपछि बाँके राप्तीसोनारी गाउँपालिका–१ कुसुमका अख्तर खान नेपालगञ्जमा रहेको भेरी अस्पताल पुगे । जाँचपछि चिकित्सकले दिएको पर्चा लिएर उनी भेरी अस्पतालकै फार्मेसी पुगे । तर, फार्मेसीले निःशुल्क पाइने रेबिजविरुद्धको खोप नभएको बतायो । र, उनले छेउकै मेडिकलबाट ६ सय ३० रुपैयाँमा एक डोज खोप किने । थप १० रुपैयाँमा एउटा सुई र सिरिन्ज पनि किने । ‘सरकारले रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध हुने भन्छ । तर, अस्पतालको फार्मेसीमा पाइएन, मैले त एक डोजको ६ सय ३० तिरेँ,’ उनले भने ।

सरकारले सन् २०३० भित्र कुकुरको टोकाइबाट मानिसमा सर्ने रेबिजबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । सोहीअनुसार रेबिजविरुद्धको खोप निःशुल्क घोषणा गरिए पनि सरकारी अस्पतालमा जहिल्यै अभाव हुन्छ । बजारमा महँगोमा खोप पाइने भएकाले विपन्न तथा असहाय बिरामी खोप नलगाएर फर्किने गरेका छन् । तीमध्ये नेपालगञ्ज उपमहानगरपालिका–१४ का सरोज यादव पनि एक हुन् । उनलाई १० भदौमा कुकुरले टोकेपछि भेरी अस्पताल पुगे । अस्पतालले बाहिरबाट खोप किनेर ल्याउन भनेपछि उनी त्यत्तिकै घर फर्के ।


‘बाहिर किन्न जाँदा एउटा भ्याक्सिनको ६ सय ३० रुपैयाँ पर्ने रहेछ, किन्न सकिएन । पैसा तिरेर किन्न नसकिने भएपछि त्यसै फर्किएँ,’ उनले भने । रेबिजविरुद्धको खोप तीनपटक लगाउनुपर्छ । बाहिरको मेडिकलबाट खरिद गर्दा एकजनाको कुल खर्च एक हजार नौ सय २० रुपैयाँ हुन आउँछ । तर, एक भाइल भ्याक्सिनबाट दुईजनाले लगाउन मिल्छ । दुईजनालाई लगाउन कुकुरले टोकेको अर्को व्यक्ति सम्पर्कमा आउनुपर्ने हुन्छ । ‘मैले अर्को व्यक्तिलाई पर्खिरहेको थिएँ, तर कोही आएनन् । एक डोज अस्पतालको १८ नम्बर कोठामा छोडेर आएँ,’ अख्तरले भने ।

भेरीमा एक महिनादेखि रेबिजविरुद्धको खोप अभाव छ । तर, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले खोप सकिएको एक हप्ता मात्र भएको बताए । उनले पहिलेदेखि लगाउँदै आएकालाई भ्याक्सिन दिँदै आएको बताउँदै एक हप्तायता अस्पतालमा भ्याक्सिन नभएको बताए । स्वास्थ्य सेवा विभागसँग माग गरे पनि नपाएको बताउँदै उनले ५०–६० भाइल माग्दासमेत नपाएको जिकिर गरे । स्वास्थ्य सेवा विभागमा समेत नभएकाले भ्याक्सिनबारे अझै निश्चित नभएको उनले स्पष्ट पारे ।

‘खरिद भएपछि मात्र पठाउन सकिने जवाफ स्वास्थ्य विभागले दिएको छ । आउने–नआउने अझै निश्चित छैन,’ डा.रायमाझीले भने । बिरामीले बाहिरबाट खरिद गरेको गुनासो गरे पनि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.रायमाझीले अति गरिबलाई सामाजिक सेवा एकाइमार्फत भ्याक्सिनमा सहयोग गरिरहेको दाबी गरे । बाहिरको मेडिकलबाट किन्न नसक्ने गरिब तथा असहायलाई खरिद गर्न सहयोग गरिरहेका छौँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा बरिष्ठ सईमाथि खुकुरी प्रहार

१८ भाद्र २०८०, सोमबार १३:२२
नेपालगञ्ज : युवाहरुको समुहले नेपालगञ्जमा एक प्रहरीमाथि खकुरी प्रहार गरेको छ । युवाहरुको समुहले नेपाल प्रहरीका बरिष्ठ सई बिनोद सिंह माथि आइतवार राती खुकुरी प्रहार गरेको हो । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार, बरिष्ठ सइ सिंहलाई आइतबार राती साढे १० बजे तिर नेपालगञ्जको कलपतरु होटल नजिक युवाहरुले खुकुरी प्रहार गरी […]