डुडुवा (बाँके) : बर्खे, हिउँदे मकैको खेती गर्दै आएका बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका किसान बसन्ते मकै खेतीतर्फ आकर्षित भएका छन् । बाबु बाजेको पालादेखि तरकारी खेती गर्दै आएका हिरमिनियावासीले पछिल्लो समय मकै खेती गर्न थालेका छन् ।
डुडुवा गाउँपालिका– ६ बल्दीपुर्वाका किसान गुरुदीन यादवले ६० कठ्ठा क्षेत्रफलमा बसन्ते मकै खेती गरेका छन् । आलु भित्र्याएलगत्तै बेमौसमी मकै लगाएको बताउँदै उनले बसन्ते, बर्खे र हिउँदे समयमा समेत मकै लगाउने गरेको जानकारी दिए ।
मकैमा राम्रो आम्दानी हुने गरेको बताउँदै डुडुवा ६ भंघोटनाका किसान जयपाल मौर्यले एक कठ्ठामा ४ क्विन्टल मकै उत्पादन हुने गरेको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिरमिनियालाई तरकारी र मकै पकेट क्षेत्र बनाएसँगै यहाँका किसानले मकैखेतीमा जोड दिएको मौर्यको भनाई छ । उनले भने, ‘तरकारी खेतीभन्दा मकैबाट धेरै फाइदा हुने भएपछि हिरमिनियाका अधिकांश किसान यसतर्फ आकर्षित भएका छन् ।’ २० वर्ष पहिला ३० कट्ठा जमिनबाट मकै खेती शुरु गरेका मौर्यले अहिले ९० कट्ठामा मकैखेती गरेको जानकारी दिए । उनले खेतको राम्रो हेरचाह गरेको खण्डमा राम्रो उत्पादन गर्न सकिने उल्लेख गरे । बाँकेको अन्य ठाउँका खेतबारी बाँझो भएपनि हिरमिनियाका अधिकांश खेतबारीमा मकै र तरकारीले हरियाली छाएको छ । कम जग्गा भएकाहरू तरकारी खेती गरी आफै बजारमा लगेर बिक्री गर्ने गरेको बताउँदै उनले भने,‘हामी पनि पहिले तरकारी खेती गथ्र्यौँ । मकैबाट राम्रो फाइदा भएपछि तरकारी खेती छाड्यौँ ।’


हिरमिनियाका किसानले मकै खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । मकैलाई नगदे बालीका रूपमा लिएका हिरमिनियाका किसानले मकैखेती गर्न आधुनिक कृषि प्रविधिको प्रयोगसमेत गर्दै आएका छन् । आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादनमा वृद्धि हुनुका साथै श्रम र लागतमा समेत कमी आएको छ । मौर्यले बाहिर मजदुरी गर्न जाने महिला पुरुषलाई स्थानीयस्तरमा रोजगारी दिएर विदेश जानबाट रोक्ने काम गरेको बताए । उनले भने, ‘हाम्रो मोर्निङ वाक खेतमा काम गरेर बित्ने गरेको छ ।’ मौर्यले मकैको बिउ छर्ने, गोडमेल गर्ने, खोसेल्टा नङ्ग्याउने, दाना छोडाउने लगायतको कामका लागि स्थानीयलाई अवसर दिने गरेको बताए ।
बल्दिपुर्वाका किसान यादवले भने, ‘मकै नगदे बाली हो । समयमा बिक्री गर्न नसक्ने हो भने तरकारी कुहिएर खेर जान्छ, तर मकै लामो समय राख्न र मूल्य बढेको वेला बिक्री गर्न सकिन्छ । कुहिने र सड्ने खतरा रहँदैन ।’
मकै र तरकारी खेतीबाट हिरमिनियाले आफ्नो परिचय मात्र बनाएको छैन, यहाँका किसानले मनग्य आम्दानीसमेत गर्दै आएको डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले बताए । थोरै जमिनबाट धेरै आम्दानी गरेकै कारण हिरमिनियाका किसानलाई खान, लाउन पुगेको भन्दै उनले तरकारी र मकै खेतीका लागि सिँचाईको उचित व्यवस्था नहुँदा किसानलाई समस्या भए पनि स्थानीयले आफ्नै लगानीमा बोरिङ जडान गरेर सिचाई गर्दै आएको जानकारी दिए । सिक्टा सिचाई आयोजनाको नाम सुन्ने गरे पनि कहिले आउने हो थाहा नभएको बताउँदै वडाध्यक्ष मिश्रले भने, ‘सिक्टाका लागि जमिन छुट्याइ सकिएको छ सरकारले सिँचाईको व्यवस्था गरिदिए खेतीका लागि सहज हुने थियो ।’
डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील कुमार शर्माका अनुसार डुडुवामा ४ सय ७५ हेक्टर क्षेत्रफलमा बसन्ते मकैको खेती गरिएको छ । डुडुवामा वडा नं. २, ३, ४, ५ र ६ मा मकै खेती गरिएको उनले जानकारी दिए । जसमध्ये सबैभन्दा बढी डुडुवा ६ हिरमिनियामा दुई सय ५० हेक्टर जमिनमा बसन्ते मकै खेती गरिएको शर्माले बताए । गत वर्ष बसन्ते मकै खेतीको क्षेत्रफल कम भएपनि यसवर्ष डुडुवाको अधिकाँश वडामा मकै खेतीको विस्तार भएको कृषि शाखा प्रमुख शर्माको भनाई थियो ।