भेरी अस्पतालमा आकस्मिक बाहेकका सेवा २ दिन बन्द

सदरलाइन संवाददाता १४ बैशाख २०८२, आईतवार १३:२५
 

नेपालगन्ज : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएकाले आइतबार र सोमबार (आज र भोलि) आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले शनिबार भएको आगलागीका कारण आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको जानकारी दिए ।

शनिबार ओपीडी बिल्डिङमा रहेको मेडिकल स्टोर (अस्पतालमा दिनहुँ खपत हुने सामान राख्ने कोठा) मा आगलागी भएको थियो । आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा क्षति पुगेको छ ।


भ्याक्सिन राख्ने फ्रिजबाट विद्युत् सट भएर आगो लागेको र करिब तीन-चार करोड क्षति भएको अनुमान गरिएको मेसु डा. सुवेदीले जानकारी दिए । यद्यपि आगलागीको वास्तविक कारण र क्षतिको विवरण पत्ता लगाउन अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिलाई जतिसक्यो छिटो प्रतिवेदन बुझाउन भनिएको मेसु डा. सुवेदीले बताए ।

अस्पतालको ओपीडी बिल्डिङमा लागेको आगो नेपालगञ्ज उप–महानगरपालिकाको दमकलको सहयोगमा निभाइएको थियो । त्यसक्रममा बिल्डिङभरी पानी र जलेका÷नजलेका सामानहरु छरपस्ट छन् ।

त्यसलाई सफा गर्नका लागि दुई दिन आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको मेसु डा. सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितुवाको आक्रमणबाट नौ वर्षीया बालिकाको मृत्यु

१४ बैशाख २०८२, आईतवार १३:२५
  नेपालगन्ज : चितुवाको आक्रमणमा नौ वर्षीया बालिकाको सोमबार बिहान मृत्यु भएको छ। गुलरिया नगरपालिका वडा नम्बर ६ र ८ को सीमानामा पर्ने मंतगा सामुदायिक वनमा आफन्तसँग दाउरा टिप्न गएकी गेरुवा गाउँपालिका–६ की मेलिना खड्काको चितुवाको आक्रमणमा मृत्यु भएको हो। खड्का गुलरियामा आफन्तको व्रतबन्धमा सहभागी हुन आएकी थिइन्। घटनास्थल गुलरिया […]