नेपालगञ्ज–गुलरिया सडकखण्ड पेडारीमा पुल बन्ने

सदरलाइन संवाददाता १९ फाल्गुन २०८०, शनिबार १५:१९
 

नेपालगञ्ज : नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका –३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्की पुल निर्माण हुने भएको छ ।

खजुरामा ६ वर्ष अघिदेखि चार लेन सडक निर्माण शुरु भए पनि साँघुरो र जीर्ण पुल भएका कारण आवागमनमा सास्ती हुँदैआएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले नयाँ पुल निर्माणका लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

योजना प्रमुख भण्डारीले भने, ‘डिजाइन प्राप्त हुनासाथ ठेक्काका लागि सडक विभागमा बुझाउने तयारी छ ।’ फागुन महिनाको अन्त्यसम्म पुल निर्माणका लागि टेण्डर हुने कार्यालयले जनाएको छ ।


पेडारी नालामा नयाँ पुल २२ मिटर चौडाइ र ३३ मिटर लम्बाइको हुने प्रारम्भिक डिजाइनमा उल्लेख छ । पेडारी नालामा साँघुरो र जीर्ण पुल भएका कारण बर्षायाममा खोलामा बाढी आउँदा पटक–पटक सवारी आवागमन प्रभावित हुने गरेको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले नेपालगञ्जदेखि बर्दियाको गुलरिया जोड्ने हुलाकी सडक अन्तर्गत पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सतह बढ्नासाथ पानी सडक भएर बग्नेगरेको बताए ।

उनले भने, ‘अग्लो पुल निर्माणका लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ भएको थिएन, अब पुल निर्माणका लागि प्रक्रिया अघि बढेको छ । समयमै काम होस् गाउँपालिकाका तर्फबाट आवश्यक सहजिकरण गर्नेछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा हल्का वर्षा हुँदै

१९ फाल्गुन २०८०, शनिबार १५:१९
नेपालगञ्ज : नेपालगञ्जलगायत आसपासका केही स्थानमा हल्का वर्षा भईरहेको छ । पश्चिम न्यून चापिय प्रभावका कारण शनिवार र आइतवार हल्का वर्षा हुने जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ