नेपालगञ्ज : बर्दिया बाँसगढी नगरपालिका–२, अमैयाकी टोपबहादुर वली विरामी अवस्थामा मलेशियामा अलपत्र परेका छन् । गएको कम्पनी छोडेर अर्कोमा गैरकानूनी रुपमा सेक्युरिटी गार्डको काम गर्दै आएका वली विरामी भएर अस्पतालमा अलपत्र परेका हुन् । वली नौ दिनदेखि अस्पतालमा छट्पटाइरहेका छन् ।
श्रीमती नन्दा वलीका अनुसार, टोपबहादुर सिलायन अस्पतालमा छन् । प्रेसरले हानेपछि अन्य कर्मचारीले उनलाई अस्पताल पु¥याइदिएका छन् । राम्ररी उपचार हुन सकेको छैन । कम्पनीले गैरकानूनी रुपमा काम गरेकाले उपचार गर्न नसक्ने बताइरहेको छ ।

टोपबहादुर ११ वर्षअघि मलेसिया गएका थिए । दुई वर्ष गएको कम्पनीमा काम गरेका टोपबहादुर त्यसपछि गैरकानूनी रुपमा अन्यत्र कम्पनीमा काम गरिरहेका थिए । यो बीचमा धेरै वर्ष टोपबहादुर परिवारको सम्पर्कमा थिएनन् । श्रीमती नन्दाले आर्थिक अवस्था कमजोर रहेकाले श्रीमानलाई नेपाल झिकाउन नसकेको बताउदै सहयोगको अपिल गरेकी छन् ।
कम्पनीले आफन्ती आएमा नेपाल फर्किने टिकट काटिदिने बताएको छ । श्रीमान् लिन जान उनलाई आर्थिक अभाव भएको छ । नेपाल सरकारलाई दूताबासमार्फत श्रीमानलाई झिकाइदिन अनुरोध गरेकी छन् ।


