एक हजारबाट शुरु गरेको नर्सरी एक करोडसम्म पुग्यो

सदरलाइन संवाददाता ११ फाल्गुन २०८०, शुक्रबार १८:१९
 

नेपालगञ्ज : कोहलपुर नगरपालिका ३ मैटह्वाकी राजरानी थारुले नर्सरी ब्यवसाय गर्छिन् । भएको सात कट्ठा जमिन पनि बन्धकी राखेर सौतेली दिदिको उपचारमा रकम सकिएपछि उनको परिवारको विचल्ली भएकै बेला उनले कोहलपुरस्थित एक एग्रोभेटबाट पाँच सय रुपैयाँमा लौका, फर्सी, काँक्रा, करेला र घिरौलाको विउ किनिन् । त्योसँगै उनले पाँच सय रुपैयाँमा मलिलो माटो र पोली ब्याग खरिद गरिन् ।

विउबाट उनले घरमै तरकारीको दुई हजार वेर्ना उत्पादन गरि प्रति विरुवा तीन रुपैयाँका दरले विक्रि गरेको उनले बताइन् । एक हजार रुपैयाँमा उत्पादन गरेको तरकारीको बेर्नाबाट उनले ६ हजार आम्दानी गरिन् । ‘थोरै लगानीबाट सोँचेभन्दा धेरै आम्दानी भएपछि हौसला बढ्यो,’ उनले भनिन् ।

तरकारीको बेर्ना उत्पादनसँगै आफ्नो करेसाबारीमा क्लाष्टिकको विरुवा उत्पादन गरेको उनले सुनाइन् । त्यहिबेला कोहलपुरस्थित एक जंगलमा झाडी फडानी भइरहेको थियो । इलाका बन कार्यालयका कर्मचारी क्लाष्टिकको विरुवा खोज्दै उनी कहाँ पुगे र क्लाष्टिकका थप विरुवा माग गरे, तर उनले रकम नभएकोले आफूले थप विरुवा उत्पादन गर्न नसक्ने बताएइन् । ‘मेरो कुरा सुनिसकेपछि वन कार्यालयका कर्मचारीले २० हजार रुपैयाँ दिन्छौँ हाम्रो लागि एक लाख विरुवा उत्पादन गरिदिनु पर्यो भन्नुभयो,’ उनले भनिन्, ‘उहाँहरुले दिएको रकमबाट एक लाख विरुवा उत्पादन गर्यौँ र, प्रति विरुवा एक रुपैयाँका दरले विक्रि गर्यौँ । यसले हाम्रो ब्यवसायलाई थप मद्दत पुग्यो ।’

उनले कोहलपुरमा दिपेश नर्सरी सञ्चालनमा ल्याएकी छन् । उनको नर्सरीमा अहिले खोजेको र रोजेको फलफूल र रुखका विरुवा किन्न पाइन्छ । उनले कोहलपुरस्थित तरकारी बजारमा विक्रि केन्द्र राखेकी छन् । ‘एक हजार रुपैयाँबाट सुरु गरेको ब्यवसाय अहिले एक करोडको पुगेको छ,’ उनले भनिन्, ‘हाम्रो नर्सरीमा उत्पादन भएको फलफूल र बोटविरुवा देशको ५४–५५ जिल्लामा जान्छ ।’


उनले युनिक नेपाल लघुवित्त वित्तिय संस्थाबाट सुरुमा १० हजार रुपैयाँ ऋण लिइन् । उक्त ऋण चुक्ता गरेपछि २० हजार लिने आँट गरिन् । अहिले उनले सात लाख रुपैयाँ ऋण लिएर मासिक २५ हजार बुझाउछिन् । ‘महिनामा सरदर दुई लाख रुपैयाँ नाफा हुन्छ । यहिँबाट कमाएर म्याक्सिमा अटो, मोटरसाइकल, टनेल, पोली हाउस टनेल बनायौँ । दिदिको उपचारमा ३० लाख खर्च भयो त्यो पनि नर्सरी ब्यवसायबाट कमाएको पैँसा हो,’ उनले भनिन् ।

उनलाई उनका पति रामदयाल थारुले साथ दिन्छन् । उनले धनगढीमा पाँच लाख र कोहलपुरमा साढे दुई लाख रुपैयाँको चाइनिज दुवो लगाउने योजना रहेको बताइन् । ‘चाइनिज दुवो आउँदैछ । दुई ठाउँमा काम सकियो भने दुई लाख जति नाफा हुन्छ होला,’ राजरानीले सुनाइन् ।

पहिलेको भन्दा नर्सरी उत्पादकको संख्या बढे पनि विक्रिमा कमी नआएको उनको भनाई छ । नर्सरी उत्पादकको संख्या बढे पनि विक्रि घटेको छैन,’ उनले भनिन्, ‘बजारीकरण गर्न जानु पर्दैन ग्राहकहरु आफै खोज्दै आउँछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा २० हजार पशुलाई भ्याक्सिन लगाईंदै

११ फाल्गुन २०८०, शुक्रबार १८:१९
नेपालगञ्ज : नेपालगञ्जमा २० हजार पशुलाई खोरेत विरुद्धको भ्याक्सिन लगाइँदैछ । गाईभैंसीलाई खोरेत रोगबाट जोगाउन ६ महिनामाथिका बाच्छाबाच्छी तथा पाडापाडीलाई खोरेत विरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको पशु सेवा शाखाले तीन जना भ्याक्सिनेटरको टोली परिचालन गरेर भ्याक्सिन लगाउने कार्यको सुरुवात गरेको जनाएको छ । टोलीमा हिरालाल अहिर […]