दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी संस्थाहरू उत्पादनमा नजोडिँदासम्म प्रदेशले समृद्धिको लक्ष्य पूरा गर्न नसक्ने बताउदै उत्पादनसँग जोडिन आग्रह गरेका छन् ।
६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी प्रदेशका उत्कृष्ट सहकारी संस्थाहरूलाई पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन बढाउन सहकारी संस्थाहरू अनिवार्य रूपमा जोडिन आग्रह गरेका हुन ।
‘जुन लक्ष्य र उद्देश्य बोकेर सहकारीहरू निर्माण भएका छन् । जसरी उत्पादनसँग जोडिनुपथ्र्यो । त्यसरी नजोडिएको देखेको छु’–उनले भने –‘सहकारी संस्थाको माध्यमबाट स्थानीय उत्पादन बढाउन सकिन्छ । किसानको उत्पादन बजारसम्म पुर्याउन सकिन्छ । आयआर्जन बढाउन सकिन्छ । किसानको जीवनस्तर माथि उठाउन सकिन्छ ।’


हरेक सहकारी संस्था उत्पादनसँग जोडिनुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड छ । समाजवादको आधारशिला सहकारी भएको र प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । पछिल्लो समय सहकारीहरू आफ्ना लक्ष्य, उद्देश्यभन्दा बाहिर गएर काम गर्दा समस्या उत्पन्न भएको र त्यसलाई ट्र्याकमा ल्याउने काम सरकारले गरिरहेको जानकारी गराए ।
‘नियतबस खोलिएका सहकारीका कारण अत्यन्त राम्रो काम गरेका सहकारीहरू प्रति पनि मान्छेहरूले औंला ठड्याउने परिस्थिति निर्माण भएको छ । तर, राम्रो काम गर्ने सहकारी अभियन्ताहरू विचलित हुने अवस्था आउन दिने छैनौं’–उनले भने–‘नकारात्मक काम गर्ने, उपभोक्ताको रकम अपचलन गर्ने त्यस्ता सहकारीलाई निरुत्साहित गर्ने, कानुनी दायरामा ल्याउने काम भइरहेका छन् ।’
राम्रो काम गरेका सहकारी संस्थालाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको बताउदै सहकारी अभियानलाई अझ व्यापक बनाउनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट भएका चारवटा सहकारी संस्थाहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।