दाङका महिला दुनाटपरी बिक्री गरेर आत्मनिर्भर बन्दै

सदरलाइन संवाददाता १० बैशाख २०८०, आईतवार १५:३३
 

दाङ : दाङको घोराही उपमहानगरपालिका–१७ डवरीका महिलाहरुले दुनाटपरी बनाइ बिक्री गरेर आम्दानी गर्दै आएका छन् । जङ्गलमा खेर जाने सालको पातबाट दुनाटपरी बनाउँदै आएका महिला आम्दानी हुन थालेपछि निकै खुशी भएका छन् । समूहमार्फत चार वर्ष अघिदेखि दुनाटपरी बनाएर बिक्री गर्न थालेदेखि आम्दानी हुन थालेको उनीहरुले बताएका छन् ।

वि.सं. २०७४ मा इपिआरसी नेपालले गाउँका महिलालाई टपरी बनाउने तालिम दिएको थियो । सामूहिक रुपमा दुना तथा टपरी बनाउने काम गर्दे आएको त्रिशक्ति दुनाटपरी समूहकी अध्यक्ष उमा रावतले बताइन् । तालिम लिएपछि दश महिलाको समूह बनाएर काम थालेको अध्यक्ष रावतको भनाइ छ ।

“तालिम सकिएपछि गाउँका महिला मिलेर समूह गठन गर्दै दुनाटपरी उद्योग घरेलुमा दर्ता ग¥यौं, उद्योग दर्ता गरेपछि घरेलु तथा साना उद्योगले ८० प्रतिशत अनुदानमा दुनाटपरी बनाउने मेसिन समूहलाई प्रदान गरेको थियो”, उनले भनिन्, “मेसिनको दुनाटपरी हातले बनाएको जस्तो भरपर्दो नभएको भनेर ग्राहकले किन्न मानेनन् ।”

गत वर्षदेखि हातले बनाउन थालेको उनले बताइन् । पछिल्लो समयमा दाङमा हातले बनाएको दुनाटपरीको माग बढेको छ । साल र मालुको पातको दुना टपरी बनाउने गरेको उनले बताइन् ।

“जिल्लामा घोराही, तुलसीपुर, नारायणपुर र लमही बजारबाटसमेत माग आउन थालेको छ”, उनले भनिन्, “बजारका पूजा सामग्री पसलले बिक्री गर्दछन् उता बिक्री नभएको आफैले समन्वय गरेर बिक्री गर्ने गरेका छौं, यसको माग बाह्रैमहिना आउने गर्दछ, चाडपर्व, पूजा, बिहे मृत्यु संस्कारमा पनि हरियो, सुकेको दुनाटपरीको माग हुने गर्दछ, मौसमको समयमा माग धान्न मुस्किल हुन्छ । एउटा टपरीको मूल्य रु चार रहेको छ ।” दुना एक मालाको एक सय कायम गरिएको समूहकी अध्यक्ष रावतले जानकारी दिइन् ।

मालामा सयवटा दुनाटपरी हुने उनले बताइन् । हरियो दुनाटपरीको माग गर्नेका लागि तुरुन्तै वनबाट पात ल्याएर तयार गरिन्छ । विभिन्न सञ्चारमाध्यमले महिला उद्यमी बनेका र घर नजिकै खेर गएको पात सदुपयोग गरेर दुनाटपरी बनाएका समाचार सुनेपछि गाउँका दिदीबहिनीले सल्लाह गरेर काम सुरु गरेको समूहकी सदस्य शोभा घिमिरेले बताइन् ।


मेसिनबाट बनाएको भन्दा हातले बनाएको मानिसले मन पराउने भएका कारण हातले बनाएको धेरै बिक्री हुने गरेको समूहकी सदस्य घिमिरेले बताइन् । उनले भनिन्, “बजारका चाट पसल, पूजा सामग्री पसलमा सम्पर्क गर्छौँ, उत्पादन भएको दुनाटपरी बिक्री गर्न समस्या छैन ।” उत्पादन सुरु भएसँगै अहिलेसम्म राम्रो आम्दानी भएको उनक भनाइ छ ।

“पहिले घर खर्चका लागि दुनाटपरी बनाउने काम गर्दे आएका थियौँ, तालिम पाएपछि भने व्यावसायिक रुपमै अगाडि बढेका छौँ”, उनले भनिन् । दुनाटपरी बनाउने काम सुरु गरेसँगै आर्थिक रुपमा सवल बन्दै गएको उनको भनाइ छ । वनमा खेर गएको पात र बचेको समयको सदुपयोग गरेर एक जनाले मासिक रु छ हजारसम्म आम्दानी गर्ने गरेको उनले बताइन् ।

“बजारमा बाह्रैमहिना दुनाटपरीको माग हुने गरेको छ”, घिमिरेले भनिन्, “पहिले बसेर दिन बित्ने गरेका थिए, अहिले दिदीबहिनी जम्मा हुँदा पनि आम्दानी हुने काम गरेका छौँ, आम्दानी भएपछि आफ्ना इच्छा पूरा भएका छन् ।” बजारमा पाइने प्लास्टिकका सामान विस्थापित गर्ने प्लास्टिकले स्वास्थ्यमा पर्ने असरका बारेमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने उनको धारणा छ । पातबाट बनेको जैविक सामानको महत्वका बारेमा सकारात्मक अभियानलाई प्रचार गर्न सकेमा आफ्नो व्यापारले बजार पाउने महिलाको धारणा छ ।

घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलाले खेर गएको समय र पातको सदुपयोग गरेर उत्पादनमूलक काममा लागेकोमा प्रशंसा गरेकी छिन् । उनले त्यहाँ उत्पादन भएका सामग्री बिक्री गर्न असहज भएमा बजार व्यवस्थापनमा पालिकाले सहयोग गर्ने बताइन् ।

अरु महिलालाई पनि घर वरिपरी खेर गइरहेको पातलाई सदुपयोग गरेर आयआर्जनमा जोडिन आग्रह गरेकी छिन् । दुनाटपरी प्रयोग गरेर प्लास्टिकका सामान किन्ने पैसा बाहिर जाने रकम रोक्न सकिने उनको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमवार लोकतन्त्र दिवस मनाईंदै

१० बैशाख २०८०, आईतवार १५:३३
नेपालगञ्ज : सोमवार लोकतन्त्र दिवस । आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाईंदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरे । जनताको विजय भएको खुशियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस […]