कोहलपुरमा विद्यार्थीले बनाए अटोचार्ज विद्युतीय मोटरसाइकल

सदरलाइन संवाददाता ६ फाल्गुन २०८०, आईतवार १७:४२
 

नेपालगञ्ज : बाँकेको कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा अध्ययनरत दुई विद्यार्थी मिलेर अटोचार्ज विद्युतीय मोटरसाइकल बनाएका छन् ।

स्कुलको कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्ने १७ वर्षीयद्वय ऋतिक खड्का र अरुण रानामगर मिलेर अटोचार्ज हुने विद्युतीय बाइक निर्माण गरेको विद्यालयका शिक्षक कर्णबहादुर बस्नेतले जानकारी दिए ।

मोटरसाइकल बनाउने विद्यार्थी ऋतिक खड्काले पढाइ बाहेक अरु नयाँनयाँ केही काम गर्न र नयाँ सिर्जना गर्न सानैदेखि इच्छा लाग्ने गरेको बताए । उनीहरुले नयाँ केही गर्ने सोच आएपछि अर्का साथि अरुण रानामगरसँग सल्लाह गरेर दुबै जना मिलेर अनुसन्धान गरि यो बाइक बनाउने प्रोजेक्टको काम सम्पन्न गरेको उनले बताए ।

विद्यार्थी अरुण रानामगरले मोटरसाइकल बनाउन दुबै जनाले धेरै मिहिनेत गर्नुपरेको बताए ।

मोटरसाइकल बनाउनका लागि सोँच आइसकेपछि गुगलमा खोजी गरी अध्ययन गरेपछि विभिन्न कवाड सङ्कलन केन्द्र, इलेक्ट्रिक पसल तथा वेल्डिङ्ग सेन्टर पुगेर आफ्नो प्रोजेक्टलाई आवश्यक पर्ने सामानहरु जम्मा गरेको उनले बताए ।

मोटरसाइकल बनाउने सपना भएपनि आर्थिक अभावका कारण आवश्यक सामग्री किन्नका लागि समस्या रहेको उनीहरु सम्झिन्छन् । “दुई जना मिलेर बाइक बनाउने प्रोजेक्टको प्रस्ताव तयार पा¥यौं, आर्थिक स्रोतका लागि स्कुलमा प्रस्ताव पेश ग¥यौं,“ ऋतिकले भने, “सरहरुले सल्लाह गर्नुभयो र स्कुलले २० हजार रुपियाँको आर्थिक बन्दोबस्त गरेपछि हाम्रो प्रोजेक्ट सफल भयो ।“


पाँच दिनसम्मको मिहिनेतपछि मोटरसाइकल तयार भएको अरुणले बताउनुभयो । उहाँले अटोचार्ज विद्युतीय मोटरसाइकलमा लागि साइकलका दुई वटा पाङ्ग्रा, कार्टुनको कभर, लिथियम, मोटर र कन्ट्रोल बक्स प्रयोग गरिएको बताए । उनले दुई वटा १२ भोल्टेजका ब्याट्री, कभर, डिजाइन कलर आफूहरुले निर्माण गरेको जानकारी दिए ।

ऋतिकले एकपटक विद्युत् चार्ज गरेपछि ८ किलोमिटरसम्म गुड्न सक्ने क्षमता भएको बताए । मोटरसाइकलमा सोलार प्लेटसमेत जडान गरिएको छ । घाम लागेको समयमा सोलारको प्लेटबाट अटोमेटिक ब्याट्री चार्ज हुने उनको भनाइ छ ।

मोटरसाइकल बनेपछि विद्यार्थी साथीहरु, शिक्षक शिक्षिका तथा अभिभावकहरुबाट पाएको माया, वाहवाही, सद्भाव, प्रोत्साहनले आफूहरुलाई थप हौसला प्रदान गरेको र यो हौसलाले भविष्यमा अरु नयाँ काम गर्न थप उर्जा मिलेको उनीहरुले बताए ।

सानैदेखि पढ्नमा तेज ऋतिक र अरुण विद्यालयमा आयोजना गरिने विभिन्न कार्यक्रममा अतिरिक्त क्रियाकलापमा भाग लिँदै आएको र पढाइबाहेक अन्य क्रियाकलापमा पनि उनीहरुको अत्यन्तै लगाव रहेको शिक्षक संयम भण्डारीले बताए । ऋतिक र अरुणले आफैंले बाइकको नाम ‘गोरखा इभी इलेक्ट्रोनिक भेहिकल’ राखेको उनले जानकारी दिए ।

दुई विद्यार्थीले निर्माण गरेको सो मोटरसाइकल विद्यालयको विज्ञान प्रयोगशालामा राखिएको विज्ञान प्रदर्शनीका संयोजक श्याम भण्डारीले बताए । अहिले पनि बाइक अवलोकन गर्न सकिन्छ र विद्यार्थीहरुले सानै उमेरमा उदाहरणीय काम गरेर विद्यालयको नाम राखेको उनको भनाइ छ ।

११ औं अभिभावक दिवसको अवसरमा ऋतिक र अरुणले बाइक बनाएर प्रदर्शनी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर रानामगरले जानकारी दिए । उनले विद्यालयले गुणस्तरीय शिक्षा मात्र नभई विद्यार्थीहरुलाई अन्य अतिरिक्त क्रियाकलापमा पनि सहभागी बनाउँदै आएको बताए । गोरखाका अन्य विद्यार्थीहरुले पनि नयाँनयाँ क्रियाकलापहरु गर्दै आएको जानकारी दिए । विद्यार्थीको यस्तो अतिरिक्त काममा विद्यालयको सरसहयोग सधैंभरि रहिरहने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेत्रहीन क्रिकेटमा कर्णाली प्रदेश विजयी

६ फाल्गुन २०८०, आईतवार १७:४२
नेपालगञ्ज : नेत्रहीन क्रिकेट सङ्घद्वारा बाँकेको कोहलपुरमा आयोजना गरिएको नेत्रहीन क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेश विजयी भएको छ । कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट सङ्घ सुर्खेतको टोलीले लुम्बिनी नेत्रहीन क्रिकेट सङ्घ, रुपन्देहीलाई २९ रनले हरायो । लुम्बिनी प्रदेशले टस जितेर फिल्डिङ रोजेको थियो । कर्णालीले ६ विकेटको क्षतिमा एक सय ५७ […]