बाँकेमा चक्कु प्रहारबाट डीएसपी तिवारी घाइते

सदरलाइन संवाददाता १० कार्तिक २०८०, शुक्रबार १२:४७
 

नेपालगञ्ज : इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन् ।

कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका तिवारीमाथि थापाले चक्कु हानेका थिए । चक्कु लागेपछि तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।


प्रहरी प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । सो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा तिवारीलाई लागेको थियो । चक्कु प्रहारबाट प्रहरी नायब उपरीक्षक तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताए । तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए ।

त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । बिहीवार राती करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनाईलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक सन्तुलन ठीक नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिबार राती खण्डग्रास चन्द्रग्रहण लाग्ने

१० कार्तिक २०८०, शुक्रबार १२:४७
नेपालगञ्ज : आश्विन शुक्ल पूर्णिमा, कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरू हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त […]

सम्बन्धित