विद्यार्थीलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना

सदरलाइन संवाददाता ४ फाल्गुन २०८०, शुक्रबार १४:२८
 

नेपालगञ्ज : पछिल्लो समय आत्महत्याको सङ्ख्या बढ्दो रूपमा रहेको तथ्याङ्कले देखाएको छ । यसको न्यूनीकरणका लागि सम्बन्धित निकायहरूले पहल शुरु गर्नु पर्ने देखिएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जले विद्यालयका विद्यार्थीहरूलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रमका साथै प्रशिक्षण कक्षा सञ्चालन गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ स्थित श्री जगत ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई बिहीबार आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना प्रदान गर्नुका साथै प्रशिक्षण कक्षा सञ्चालन गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरी बहादुर बिसीले जानकारी दिए ।

सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको सहकार्यमा उक्त विद्यालयका विद्यार्थी, कर्मचारी तथा शिक्षक शिक्षिकालाई वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक हिकमतबहादुर रेग्मीले आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिनुभएको उनले बताए ।


डिप्रेसन, घरेलु हिंसा, व्यक्तिको मानसिकता, सामाजिक, आर्थिक तथा व्यक्तिगत लगायतका विभिन्न कारणबाट मानिसले आत्महत्याको बाटो रोज्ने गरेको पाइएकाले आत्महत्या रोकथामका लागि कारणहरू पहिचान गरी सम्बन्धित सरोकारवाला निकायले समयमै प्रभावकारी ढङ्गले सचेतनामूलक लगायतका कार्यक्रमहरू समाजमा दिन सके आत्महत्याको दरमा कमी आउन सक्ने प्रहरी निरीक्षक बिसीले जानकारी दिए ।

विद्यार्थीहरूलाई यस सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गरी घर वरपर समाजमा यस्ता घटनाहरू नघटुन् भन्ने विश्वासले विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

प्रहरीले पछिल्लो समयमा सामुदायिक प्रहरी सेवा केन्द्रसँगको समन्वयमा घरेलु हिंसा, बेचबिखन, लागू औषध दुर्व्यसन विरुद्धका विभिन्न कार्यक्रमहरूका साथै सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डेढ किलो चरेससहित रोका पक्राउ

४ फाल्गुन २०८०, शुक्रबार १४:२८
नेपालगञ्ज : सयुक्त अनुसन्धानका क्रममा एसएसबी ४२ औँ टोलीले डेढ किलो चरेससहित एक नेपाली तस्करलाई पक्राउ गरेको छ । सशस्त्र सीमा बल, बहराइचको डिप्टी कमाण्डेन्ट अप्रेशनको निर्देशनमा बोर्डर पोष्ट निबियाबाट प्राप्त गुप्तचरको आधारमा संयुक्त गस्ती गरिरहेका बेला चरेस समेतिएको हो । एसएसबी र रुपईडिहा प्रहरीको संयुक्त गस्तीका क्रममा भारतीय भूभागमा […]