विद्यार्थीलाई आयुर्वेद र योग शिक्षाबारे जानकारी दिईंदै

सदरलाइन संवाददाता २७ माघ २०८०, शनिबार १७:३८
 

नेपालगञ्ज : बाँकेका केही सामुदायिक विद्यालयका विद्यार्थीलाई सानै उमेरदेखि आयुर्वेद औषधी र योग शिक्षाका बारेमा जानकारी गराउन थालिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको आयुर्वेद शाखाले दिएको जानकारी अनुसार गाउँपालिकाको वडा नम्बर ९ ढकेरीस्थित गणेश माध्यामिक विद्यालयले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई आयुर्वेद औषधी र योग शिक्षाका बारेमा कक्षामै जानकारी गराउन थालेको हो ।

विद्यार्थीहरुलाई आयुर्वेद औषधीको महत्व र योग शिक्षाको आवश्यकता तथा महत्वबारे कक्षामै जानकारी गराइएको राप्तीसोनारी गाउँपालिका आयुर्वेद शाखाका प्रमुख अञ्जना थारुले जानकारी दिइन् । उनले विद्यार्थीहरुलाई स्वस्थ जीवनशैली, स्थानीय स्तरमा पाइने जडिबुटीको पहिचान, आवश्यकता र महत्व तथा तनाव व्यवस्थापनका बारेमा समेत जानकारी गराइएको बताइन् ।

आयुर्वेद शाखा प्रमुख थारुले योग प्रशिक्षक गौरी शंकर मण्डलले विद्यालयमै पुगेर विद्यार्थीहरुलाई योग शिक्षाबारे विभिन्न जानकारी गराउनुका साथै योग समेत गराएका थिए । शाखा प्रमुख थारुसहित रोशन शर्मा, कविता खत्रीले पनि विद्यार्थीहरुलाई प्रशिक्षण दिए । योग शिक्षा कार्यक्रममा कक्षा ९ र १० का १०० भन्दा बढी विद्यार्थीहरु सहभागि भएका थिए ।


यसअघि आयुर्वेद शाखाले वडा नम्बर ९ का जेष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य सेवा प्रर्वद्धन कार्यक्रम पनि गरेको थियो । सो कार्यक्रममा वडाका १७८ जना जेष्ठ नागरिकले सेवा लिएका थिए । उनीहरुको स्वास्थ्य चेकजाँचसँगै अश्र्वगन्धा, आमलकी चुर्ण, दसमूल लगायतका इम्युनिटी पावर बढाउने खालका आयुर्वेद औषधी समेत वितरण गरिएको थियो ।

चालू आर्थिक वर्षमा गाउँपालिकाका विभिन्न विद्यालयहरुमा आयुर्वेदिक तथा योग शिक्षा कार्यक्रमसँगै सुत्केरी आमाहरुलाई दुग्ध प्रवर्धक औषधी वितरण, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, योग शिविर, स्वास्थ्य जीवनशैली जस्ता कार्यक्रम गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए । उनका अनुसार पालिकाले त्यसका लागि चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धार्मिक पर्यटकको गन्तव्य बन्दै ‘पन्नहवादेवी मन्दिर’

२७ माघ २०८०, शनिबार १७:३८
नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका –१ मा पर्ने कटकुइँया नजिक रहेको ‘पन्नहवादेवी समय माता मन्दिर’ले प्रचुर मात्रामा धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको छ । नरैनापुरको कटकुइँयादेखि तीन किलोमिटर उत्तरतर्फ जङ्गलबिचमा रहेको सो मन्दिरलाई व्यापक प्रचारप्रसार र विकास गर्न सके जिल्लाकै धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयको विश्वास छ । […]