पोखरेलको श्रद्धाञ्जली सभा, निष्ठाको राजनीतिले मात्र समाजमा योगदान दिन सक्ने ठहर

सदरलाइन संवाददाता ४ मंसिर २०८१, मंगलवार १८:१९
 

घोराही, (दाङ्ग)  :  नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा दाङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको १३ औ दिनको पुण्य तिथीको दिनमा श्रद्धाञ्जली सभा गरिएको छ ।

नेकपा (एमाले) दाङको आयोजनमा पोखरेल निवास घोराहीमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले देवी पोखरेलको सरलता, इमान्दारी र निष्ठाको प्रशंसा गर्दै भने–‘आफ्नो लागि त सबैले गर्छन्, तर जसले बाँचुन्जेल देश र जनताको लागि काम गर्छ, उही व्यक्ति सधैं स्मरणीय हुन्छ ।’

ज्ञवालीले पोखरेललाई सैद्धान्तिक र वैचारिक दृष्टिले अत्यन्त गहिरो व्यक्ति भएको उल्लेख गर्दै उहाँको जीवन राजनीतिमा आदर्श व्यक्तित्वको नमुना भएको बताए । उनले पोखरेलले कहिल्यै पनि अरूको व्यक्तिगत विषयमा टिप्पणी नगर्ने, जालझेल नगर्ने र सधैं सत्यको मार्गमा हिँड्ने गुणको सराहना गर्दै भने–‘कम्युनिष्टको हृदय फराकिलो हुनुपर्छ भन्ने कुरा उहाँले आफ्नो जीवनभरि व्यवहारमा उतार्नुभयो ।’

कार्यक्रममा पोखरेलका सहोदर भाई एवम् एमाले महासचिव शंकर पोखरेलले आफ्नो मन्तव्यमा परिवारका लागि पोखरेलको त्याग र योगदानको स्मरण गरे । उनले दाजुबाट आफूले अध्ययनमा प्रेरणा पाएको र उनले साक्षरता अभियानको सुरुवात गरेर समाजमा ज्ञान र चेतनाको बीजारोपण गरेको स्मरण गरे ।

पारिवारिक जिम्मेवारी पूरा गर्न निर्माण व्यवसायमा लागे पनि जहाँ गए पनि उनले राजनीतिक र सामाजिक गतिविधिमा सक्रियता देखाउनुभएको भन्दै महासचिव पोखरेलले उनको आदर्श र योगदानलाई पछ्याउनु पर्ने आवश्यकता औंल्याए ।


श्रद्धाञ्जली सभामाएमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य शोभाराम बस्नेत, नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेकपा (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्य, र राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले पनि आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

एमाले दाङका अध्यक्ष शिवकुमार आचायको अध्यक्षतामा सम्पन्न भएको सञ्चालन सचिव श्याम डाँगीले गरेका थिए । श्रद्धाञ्जली सभामा कविता वाचन गरेर हाडिमे निवासी भीमप्रसाद न्यौपानेले पोखरेलको व्यक्तित्व र योगदानलाई कलात्मक ढङ्गले प्रस्तुत गरेका थिए ।

देवी पोखरेलको जीवन र योगदान बहुआयामिक थियो । उनको जन्म २००७ साल मंसिर ७ गते साविक विजौरी गाविस वडा नं ६ हाडिमेमा भएको थियो, जो हाल तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्छ । उनले नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल समूह) को सदस्य भएर आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । उनले झापा आन्दोलनमा वैचारिक समर्थन जनाउनुका साथै भूमिगत अवस्थामा रहँदा पनि पार्टीप्रति आफ्नो निष्ठा कायम राखेका थिए ।

उनले सन्देश पत्रिका सम्पादन गर्दै वैचारिक र साहित्यिक चेतनाको प्रवर्धन गरे । शिक्षा र सामाजिक सेवामा उनको योगदान पनि उल्लेखनीय छ । दीपशिखा उच्च माध्यमिक विद्यालयको संस्थापक सदस्यका रूपमा शिक्षाको पहुँच विस्तार गर्न उनले खेलेको भूमिका महत्त्वपूर्ण छ । साथै, गरिब र विपन्न वर्गका लागि निःशुल्क औषधि वितरण गरेर र बिरामीहरूको उपचारमा सहयोग पु¥याएर उनले समाजसेवाको उत्कृष्ट उदाहरण दिएका थिए ।

आन्दोलन र संघर्षका क्रममा उनले धेरै यातना भोगे तर कहिल्यै आफ्नो सिद्धान्त र निष्ठाबाट विचलित भएनन । उनले भूमिगत अवस्थामा रहँदा आफ्ना भाइबहिनीको शिक्षा र राजनीतिक व्यक्तित्व निर्माणमा सहयोग पु¥याएका थिए । साथै, उनको नेतृत्वमा पार्टीको संगठन विस्तार र जनपक्षीय आन्दोलनलाई सशक्त बनाउन भूमिका खेलेका थिए ।

कार्यक्रममा सहभागी नेताहरूले पोखरेलले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन गरेको योगदानको चर्चा गर्दै उनको निष्ठा, सरलता, र समाजप्रतिको प्रतिबद्धताले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे । श्रद्धाञ्जली सभामा उनको स्मरण गर्दै उपस्थित सबैले निष्ठा र इमान्दारीको राजनीति मात्र समाजलाई समृद्ध बनाउने सहमति व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य

४ मंसिर २०८१, मंगलवार १८:१९
देउखुरी (दाङ्ग)  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिंगे–चन्द्रौटा चारलेन सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुने गरी अघि बढाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा विश्व बैंकका सिनियर ट्रान्सपोर्ट विज्ञ आमले राजापाक्षेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसंगको भेटको क्रममा मुख्यमन्त्री आचार्यले सडकको दुवै किनारको काम सकेर […]