नेपालगञ्ज : नेपालगञ्ज रंगशाला फुटबल खेल्न लायक भएको छ । दुई वर्षदेखि पलाएको घाँसलाई काटेर सफा गरिएपछि फुटबल मैदान खेल्न लायक भएको हो ।
रंगशालामा ३६ लाख बढीको बर्मुडा दुबो रोपेर अन्तर्राष्ट्रियस्तरको बनाएपनि पछिल्लो दुई वर्ष खेल गतिविधि ठप्प हुँदा मैदान झाडीमा परिणत भएको थियो । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सिंगारिएको रंगशालामा त्यसपछि केही प्रतियोगितामात्रै भएको छ ।
रंगशालामा बर्मुडा दुबो रोपेपछि स्थानीय खेलाडी र क्लवले खेल्न पाएका छैनन् । दुई वर्षदेखि पलाएको घाँसले बर्मुडालाई मारिसकेको छ ।
नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक, राँझाका सेनाले घाँस काटिदिएपछि खेल्न लायक भएको रंगशालामा जिल्लाका खेलाडीलाई खेल्न दिने तयारी गरिएको छ ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जिल्लाका सिनियर फुटबल खेलाडीलाई रंगशालामा अभ्यास गर्न दिने तयारी भएको जानकारी दिए ।