नेपालगञ्ज : सन २०१० मा नेपालबाट उन्मुलन भईसकेको कुष्ठरोग राज्यको अत्यन्तै कम प्रथामिकतामा पर्दा बाँकेमा तीब्ररुपले संक्रमण फैलदो अवस्थामा रहेको पाईएको छ । अर्को अर्थमा भन्नु पर्दा बाँकेमा नयाँ कुष्ठरोगीको संख्या हरेक वर्ष बढ्दो क्रममा रहेको पाईएको छ ।
कुष्ठरोगको बारेमा लामोसमयदेखि कुनै अनुसंन्धान तथा सचेतनामुलक गतिविधि हुन नसक्दा भुसमा सल्केको आगो झै हरेकवर्ष नयाँ–नयाँ कुष्ठरोेगी थपिदै गएको जिल्ला स्वास्थ्इ कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताईन ।
उनले भनिन–‘ पछिल्लो समय राज्यको प्राथामिकतामा कुष्ठरोग नपरेको जस्तो भएको छ । अत्यन्तै न्यून कार्यक्रम र बजेट आउने भएकोले पनि संक्रमित थपिदै जाने कार्यक्रम र अनुसंधान नहुने भएको छ ।’ उनले चालु आर्थिक वर्षमा कुष्ठरोगको बारेमा मात्र दुईवटा स–साना कार्यक्रम छुट्टयाईएको जानकारी दिईन ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख पौडेलले कुष्ठरोगी नयाँ फेला पर्ने जिल्ला कपिलबस्तु प्रदेशमै पहिलो र बाँके दोस्रो भएको बताईन । उनले बाँकेमा चालु आर्थिक वर्ष पहिलो ६ महिनामा भेटिएका कुष्ठरोगी ३३ जना रहेको यी मध्ये १४ वर्ष मुनीका १३ जना रहेकोले यो अझै पनि समुदायमा लुकेको अवस्थामा रहेको हुनाले अवस्था भयावह रहेको औल्याईन ।
कुष्ठरोगको क्षेत्रमा क्रियाशिल आईएनएफ साईनिङ्ग अस्पताल छालारोग उपचार केन्द्र बाँकेमा जटिल अवस्थामा पुगेका कुष्ठरोगका विरामीहरुका लागि लक्षित गरी २४ शैयाको अस्पताल सञ्चालनमा ल्याईएको अस्पताल ईन्चार्ज मंगलबहादुर थारुले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको छ महिनामा आईएनएफ साईनिङ्ग अस्पतालमा ६० जना नयाँ कुष्ठरोगी पत्ता लाग्दा २९ जना बाँकेको रहेको र आर्थिक वर्ष २०७९–८० को पहिलो ६ महिनामा ५१ जना नयाँ कुष्ठरोगी पत्ता लाग्दा २५ जना बाँकेका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा १५७ जना नयाँ कुष्ठरोगी पत्ता लागेकोमा बाँकेका ६१, यसैगरी आर्थिक वर्ष २०७७÷०७८ मा १६२ जना नयाँ कुष्ठरोगी पत्ता लागेकोमा सबै भन्दा बढी बाँकेकै रहेका छन् ।
उनले भने–‘हरेक वर्ष आँकडा बढ्दो क्रममा छ । अझैपनि कुष्ठरोग प्रति मानिसको धारणा नकारात्मक छ । अस्पतालको नाम कुष्ठरोग अस्पताल राख्दा सेवाग्राही अत्यन्तै कम आउन थालेपछि छालारोग उपचार केन्द्र राख्नु परेको छ ।’ समाजमा कुष्ठरोग कुनै पापको कारणले नभई यो रोग भएको र नियमित उपचार भए निको हुने कुराको सन्दे पुराउन अझै पनि आवश्यक रहेको उनको भनाई छ ।
साईनिङ्ग अस्पतालका छालारोग विशेषज्ञ डा आरके झाले अस्पतालको ओपिडिमा दैनिक रुपमा ५०÷६० जना विरामी छालाको विभिन्न समस्या लिएर आउने गरेकोमा सरदर २–३ दिनमा एक कुष्ठरोगी पत्ता लाग्ने गरेको जानकारी दिए । उनले खुला सीमा तथा कुष्ठरोगबारे गलत बुझाईको कारण समाजमा लुकेर बस्ने हुँदा गाह्रो भएको बताए ।
राज्यले कुष्ठरोगीका लागि आ–आफ्नो पालिकाको स्वास्थ्य संस्थाहरुबाट औषधि निशुल्क पाउने व्यवस्था मिलाएको छ । जो कुष्ठरोगको कारण अंगभंग हुने अवस्थामा पुगेका विरामीका लागि साईनिङ्ग अस्पताल २४ वेडको छालारोग उपचार केन्द्रमा भर्ना गरेर सबै उपचार निशुल्क हुँदै अएको छ ।
खुला सीमा र समयमा उपचारमा नआउनाको कारण यसको निदानमा समस्या हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा बर्षेनी करिव १६ हजारलाई कुष्ठरोग र छालारोग सम्बन्धित सेवा दिदै आएको छ ।