विवाह गर्न वडाको सिफारिस अनिवार्य

सदरलाइन संवाददाता १५ माघ २०८०, सोमबार १५:०४
 

जुम्ला : बालविवाह हुन नदिन जुम्लाको तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिए ।

कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो । ‘विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको छ, वैशाखदेखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएका छौँ,’ वडाध्यक्ष रोकायाले भने।


कानुनीरूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । तिला–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा एक सय १० गरी जम्मा दुई सय १३ घरधुरी छन् । अहिले वडाको सिफारिस अनिवार्य गरेपछि वैशाखयता पाँच जना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन् ।

विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्छ । उमेर नपुग्दै विवाह गर्ने सुडीगाउँमा दुई र घोडेगाउँमा एक बालविवाह गर्नेलाई रोक्ने काम भएको वडाध्यक्ष रोकायाको भनाइ छ । वडाको सिफारिस अनिवार्य गरे पनि तिलाका अरु वडाले प्रभावकारीरुपमा निर्णयलाई कार्यान्वयन गर्न नसकेको तिला–१ का स्थानीय उपराज रावतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माइक्रोबसको ठक्करबाट बाँकेमा प्रहरी जवानको मृत्यु

१५ माघ २०८०, सोमबार १५:०४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित माइक्रोबसको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । नेपालगञ्ज सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिएको थियो । उक्त ठक्करबाट मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको […]