बाँकेका सबै वडामा खटाइए काँग्रेस प्रतिनिधि

सदरलाइन संवाददाता १३ माघ २०८०, शनिबार १८:२६
 

नेपालगञ्ज : नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानका लागि बाँकेमा ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटिने भएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको आज बसेको वैठकले ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

जिल्ला सभापति नारायणप्रसाद गौडेलको अध्यक्षता एवम् ‘समुदायमा कांग्रेस’ अभियानका लागि बाँके प्रतिनिधि केन्द्रीय सदस्य गुरु बरालको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यहरुलाई जिल्ला प्रतिनिधिका रुपमा खटाउने निर्णय गरेको सचिव सुधांशु कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार जिल्ला प्रतिनिधिलाई भोलि पार्टी कार्यालयमा केन्द्रीय प्रतिनिधि बरालले अभिमुखीकरण गर्नेछन् ।

केन्द्रीय प्रतिनिधि बराल अभियानका क्रममा जिल्लाका ८ वटै पालिकामा सहभागी हुने बताइएको छ । वैठकमा पूर्व पार्टी सभापति एवम् राष्ट्रिय सभा सदस्य युवराज शर्मा, पूर्व सभापति कृष्णमान श्रेष्ठ, क्षेत्रीय सभापति, पालिका सभापति, सांसद, स्थानीय तहका प्रमुख÷उपप्रमुख समेत उपस्थित थिए । कांग्रेसले माघ १६ गतेदेखि माघ २६ गतेसम्म वडा स्तरमा अभियान सञ्चालन गर्न लागेको छ ।


कांग्रेसको अभियान अन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने कांग्रेसले जनाएको छ । जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनका रुपमा लिने अभियानको उद्देश्य रहेको कांग्रेसको भनाई छ ।

अभियानमा जनताका कुरा सुन्ने अभियान भएको हुँदा औपचारिक आसन ग्रहण र मन्तव्य लगायत कार्यक्रम रहने छैनन् । माघ १६ गते शहीद दिवसका दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ हुनेछ । उक्त दिन ६ हजार ७ सय ४३ वडामा मात्र कार्यक्रम हुनेछ ।

सम्बन्धित वडा र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि बाहेक कांग्रेसको केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्य, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरू आफू क्रियाशील सदस्य रहेको वडामा पुग्नुपर्ने पार्टी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त दिन सबै नेता वडाको कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ । अभियानको यो चरण माघ २६ गते पार्टीका स्व. सभापति सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा ठुलो परिमाणमा अवैध सामग्री बरामद

१३ माघ २०८०, शनिबार १८:२६
नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छली गरेर नेपालगञ्ज ल्याइँदै गरेको ठुलो परिमाणको अवैध सामग्रीसहित ५ जनलाई नियन्त्रणमा लिएको छ । बाँके प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुशील रावलको कमाण्डको टोलीले आइतवार बिहान भारतबाट भन्सार छली गरेर ल्याइएको अवैध कुर्ता सुरवाल लगायतको सामग्री र तस्करीमा प्रयोग गरिएको एउटा […]