राम र सीताको पूजा गरी विवाहपञ्चमी मनाईंदै

१५ मंसिर २०७६, आईतवार १७:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आइतवार भगवान श्रीराम र माता सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्लपञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आइतवार आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोश्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंबरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो ।
शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्लपञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरीबहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राममन्दिरबाट बाजागाजा, झाँक्रीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ ।
यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन । रङ्गभूमि मैदानमा बर र बधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।
पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ ।
देवताको मानवीयकरणको भावनासँग समृद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ । उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।

Next Post

कोशेबालीलाई परियोजनाको रुपमा विकास गर्नमाग

१५ मंसिर २०७६, आईतवार १७:१८
सदरलाइनडटकम, नेपालगञ्ज : सरकारले कोशेबालीको विकासका लागि परियोजनामा समेटेर लैजानु पर्ने एक कार्यक्रमका सहभागिले औल्याएका छन् । कृषि व्यावसाय प्रबद्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेमा आयोजित कोशेबाली सम्बन्धी समस्या समाधान तथा अन्तरक्रिया कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन । कृषिका क्षेत्रमा सञ्चालनमा रहेका परियोजनाले धान, गहुँ र मकैलाई मात्र […]

ताजा अपडेट