चिसो बढेपछि बाँकेमा हाँसको मासुको माग उच्च

सदरलाइन संवाददाता १३ माघ २०८०, शनिबार १५:०३
 

नेपालगञ्ज : गत एक महिनादेखि बाँकेको नेपालगञ्ज लगायतका ठाउँहरूमा अत्यधिक चिसो बढेपछि हाँसको मासुको माग ह्वात्तै बढेको छ ।

चिसोको मौसममा हाँसको मासुका विभिन्न परिकार खानेहरू बढेपछि हाँसको मासुको माग उच्च हुँदा हाँस पाउनै समस्या भएको छ । नेपालगञ्जमा हाँसको छोइलालगायतका परिकारको बिक्री होटल, रेष्टुरेन्टमा धेरै हुन थालेको र घरहरूमै पनि त्यस्ता परिकार बनाउनेक्रम बढेको नेपालगन्ज ११ का दीपेन्द्र श्रेष्ठले बताए ।

उनले केही दिनयता नेपालगञ्जमा हाँस पाउन समस्या भएको बताए । नेपालगञ्ज वरिपरिका क्षेत्रमा धेरैले हाँस नपाल्ने गर्दा छोइलाको स्वाद मिठो मान्नेहरूले खोजेको बेला पाउन नसकेको बताएका छन् ।

जति हाँसको परिकारको माग बढ्न थालेको छ, उति नै हाँस पाउन मुस्किल हुन थालेको नेपालगञ्जमा हाँसको छोइलालाई स्वादिष्ट बनाएर सहरमा परिचित बनाउने रेष्टुरेन्ट व्यवसायी राजकुमार थापाले बताए ।

चिसो धेरै बढ्दै गएपछि यहाँ हाँसको छोइला लगायतका परिकारको माग बढ्दै गएको भए पनि चाहेजति हाँस नपाउँदा सेवा दिन नसकिएको बताए ।


नेपालगञ्जमा हाँसको छोइलालाई स्वादिष्ट बनाएर सहरमा परिचित बनाउने श्रेय थापालाई जान्छ । उनले यहाँ हाँसको छोइलालाई ब्रान्डिङ मात्रै गरेनन् गाउँका किसानलाई हराउँदै गएको हाँस पालनमा समेत प्रोत्साहन गरिरहेका छन् ।

थापाले थपे, ‘काठमाडौँमा हाँसको छोइला खाएको थिएँ त्यही देखेर नेपालगन्जमा पनि सम्भावना खोज्दै बनाउन सुरु गरेको हुँ । अहिले हाँसको छोइला खोज्दै मकहाँ आउनेहरू धेरै हुनुहुन्छ । तर सबैलाई दिन नसकिने अवस्था आएको छ ।’

हाँसको छोइला बिक्रीका लागि नै थापाले २०६८ सालबाट नेपालगञ्जको न्यूरोडमा फेवा रेस्टुरेन्ट शुरु गरेका थिए । उनले आफ्नो रेष्टुरेन्टमा हाँसको छोइलाकै लागि ग्राहकहरू बढी आउनेगरेको बताए ।

यो विशेष परिकारका रूपमा स्थापित भएको जनाउँदै उनले हाँसको छोइलाको बिक्री बढेपछि हाँस पालनमा समेत प्रोत्साहन भइरहेको बताए । थापाको रेष्टुरेन्टमा मात्र मासिक दुई सय वटा जति हाँसको खपत हुन्छ । तर ती हाँसहरू बर्दियाबाट ल्याउनुपर्ने बाध्यता छ ।

बाँकेमा खासै हाँस नहुने भएकाले बर्दियाबाट ल्याउने गरिएको बताउँदै थापाले एउटा हाँसको मूल्य न्यूनतम १ हजारदेखि २ हजारसम्म पर्छ । बाँकेमै हाँस पालनको वातावरण भए राम्रो हुने थियो भने । हाँसको छोइलाको माग बढ्दै गएकाले हाँसपालनमा किसानलाई प्रोत्साहन गर्नु आवश्यक रहेको थापाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केराको थामबाट रेसा उत्पादन

१३ माघ २०८०, शनिबार १५:०३
कैलाली : कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो । यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ । सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाडौँ पठाइने […]