राप्तीसोनारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सदरलाइन संवाददाता ७ माघ २०८०, आईतवार १७:४२
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका –६ सिधनवामा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३ सय ७ सय जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

शनिबार स्थानीय सिद्धेश्वर माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको सो शिविरबाट वडा ६ र ७ अन्तर्गतका १९ वटा गाउँका तीनसय ७ जना सर्वसाधारणलाई निःशुल्क रुपमा स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको वडा ६ का अध्यक्ष लबराज खरेलले जानकारी दिए ।
उनका अनुसार ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजना तथा नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा सम्पन्न सो शिविरमा ४६ जना पुरुष र एकसय ११ जना महिलासहित एक सय ५७ जनाले जनरलतर्फ स्वास्थ्य परीक्षण गराए ।

शिविरमा आँखा परीक्षणतर्फ एकसय १ जना महिला र ४९ जना पुरुष गरी एकसय ५० जनाले आँखा परीक्षण गराएर औषधी समेत निःशुल्क प्राप्त गरेका थिए ।

उक्त शिविरमा राप्तीसोनारी गाउँपालिका वडा ६ र ७ को लालपुर, जोरइया, हापुरा, मोहनपुर, सर्री, छटकपुर, कमईडाँडा, निबुवाटार, पनेरिया, बिशम्भरपुर, छपरतल्ली, पदनहा, हबरहवा, बमलहवा, सिधनवा, ढलैइया, गुलरी, भलगडिया, टेपरीलगायतका बासिन्दाले सेवा लिए ।


नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको १२ औं वार्षिकोत्सव पारेर आयोजना गरिएको सो शिविर कार्यक्रममा वडाअध्यक्ष खरेलले वडा ६ र ७ अन्तर्गतका ग्रामीण समुदायका बिरामीहरुले निःशुल्क स्वास्थ्य परीक्षण र औषधी उपलब्ध गराएकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गर्दै हरेक वर्ष एक पटक शिविर सञ्चालन गर्न आग्रह गरे ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रका अध्यक्ष लता शर्माले विद्यार्थीको आकस्मिक स्वास्थ्य समस्याको तत्काल उपचारका लागि केन्द्रको तर्फबाट राप्तीसोनारी गाउँपालिका –६ सिधनवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजारु थारुलाई प्राथमिक उपचारबक्स पनि प्रदान गरे । सो बक्समा आकस्मिक स्वास्थ्य समस्याका लागि आवश्यक पर्ने करिब २० थरी आौषधी उपलब्ध छ ।

शिविरमा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका डा. हर्षित पाठक, डा. आशिष न्यौपाने र नेत्ररोग विशेषज्ञ जीतेन्द्रकुमार वर्मासहित स्टाफ नर्सहरु दिपा थापा र सञ्जु लामाको टोलीले स्वास्थ्य परीक्षण गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारी उपशाखाका अध्यक्ष तथा सहकारी संस्थाका व्यवस्थापक दिव्या गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट औपाचारिक रुपमा ‘अवधी समाचार सेवा ’ सुरु

७ माघ २०८०, आईतवार १७:४२
नेपालगञ्ज  :  राष्ट्रिय समाचार समिति (रासस) ले ‘अवधी समाचार सेवा ’ नेपालगञ्ज उपमहानगरसंगको सहकार्यमा सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले कम्प्युटरमा माउस क्लिक गरेर समाचार सेवाको सुभारम्भ गरेका हुन । उनले अवधी भाषीको मिडिया कन्टेन्टका लागि स्थानीय सरकारले सहयोग गर्ने जानकारी दिदै आफ्ना भाषा,कला संस्कृतिको संरक्षण गर्नका […]

सम्बन्धित