अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण

सदरलाइन संवाददाता ७ माघ २०८०, आईतवार १७:३४
 

नेपालगञ्ज : चिसो बढेर जनजीवन अत्यधिक प्रभावित बनेपछि कोहलपुर नगरपालिकाले अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण शुरु गरेको छ ।

केही दिन यता बढेको कठ्यांग्रिदो चिसोले गर्दा ज्येष्ठ नागरिकहरु सबैभन्दा बढी समस्यामा परेकाले गरिब, असहाय र विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिका महिला, बालबालिका तथा समावेशीकरण उपशाखा प्रमुख घटना शाहले दिनुभएको जानकारीअनुसार कोहलपुरको वडा –१ देखि १५ सम्मका ७५ जना विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्न शुरु गरिएको हो ।

कोहलपुर नगरपालिका वडा ११ निवासी अति विपन्न ७४ वर्षीया लादी थारुलाई नगर उपप्रमुख संगिता सुवेदीले कम्बल प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन् ।

उपप्रमुख सुवेदीले विपन्नमा पनि अति विपन्न ज्येष्ठ नागरिकलाई जाडोमा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको बताउनुभयो । उहाँले सकेसम्म सबै ज्येष्ठ नागरिकलाई यो कार्यक्रममा समेट्न खोजिए पनि सीमित स्रोत साधनका कारण विपन्नमा पनि अति विपन्नको पहिचान गरेर कम्बल प्रदान गर्नुपरेको बताइन् ।


वडा ११ की वडाअध्यक्ष कल्पना अधिकारीले चिसोमा आवश्यकताको पहिचान गरेर वडाका अति विपन्न ज्येष्ठ नागरिकको छनौट गरी उहाँहरुलाई न्यानो कपडा प्रदान गरिएको जानकारी दिइन् ।

उनले वडाले पहिचान गरेका गरिवमा पनि अति गरिव ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन केही हदसम्म सहज होस् भन्ने उद्देश्यले पालिकाले सहयोग गरेको बताइन् ।

अत्यधिक चिसोका कारण समस्यामा परेका विपन्न ज्येष्ठ नागरिकले न्यानो कम्बल पाउँदा खुशी व्यक्त गरिन् । वडा नम्बर ११ निवासी अति विपन्न ७४ वर्षीया लादी थारुले कम्बल पाएपछि नयाँ जीवन पाएको अनुभुति भएको प्रतिक्रिया दिइन् ।

उनले न्यानो लुगा नहुँदा चिसोले रातभरि निन्द्रा नपर्ने अवस्था रहेका बेला यो कम्बल पाएकाले अब आरामले सुत्न पाइने बताइन् । पहिलो दिन १० वटा वडाका ५० जना विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको नगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण उपशाखामा कार्यरत तारा भण्डारीले बताइन् ।

नगरपालिकाका अनुसार एउटा वडामा पाँच जनाका दरले १५ वटा वडाका ७५ जना विपन्न ज्येष्ठ नागरिकको पहिचान गरेर कम्बल वितरण गर्न शुरु गरिएकोमा त्यसका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

७ माघ २०८०, आईतवार १७:३४
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका –६ सिधनवामा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३ सय ७ सय जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । शनिबार स्थानीय सिद्धेश्वर माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको सो शिविरबाट वडा ६ र ७ अन्तर्गतका १९ वटा गाउँका तीनसय ७ जना सर्वसाधारणलाई निःशुल्क रुपमा स्वास्थ्य […]