सदरलाइनडटकम
६ चैत, नेपालगन्ज : नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रणका लागि कडाई अपनाएको छ ।
मंगलबार अपराह्नमात्रै वितरण केन्द्रबाट खटी गएको टोलीले कोहलपुर नगरपालिका अन्तरगतको वडा नं.१२ को खडगवार टोलबाट विद्युत चुहावट गर्दै गरेका ११ थान मिटर कार्यवाहीका लागि नियन्त्रणमा लिएको छ ।
मिटर बाइपास गरेर चुहावट गर्दै भेटिका ती मिटरहरु संगै हुकिङ्ग गर्दै गरेका अन्य घरबाट १ थान २ एचपीको पानी तान्ने मोटर पनि नियन्त्रणमा लिएको वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछानेले जनाएका छन् ।
सो कार्यवाहीबाट लगभग ४ लाख बढी राजस्व संकलन हुने अनुमान गरिएको छ ।
रात्री कालिन समयमा छ्डके निरीक्षण गर्दै आएता पनि केही समययता अपराह्न समयमा पनि चुहावट नियन्त्रण टोली सक्रिय गराएको वितरण केन्द्र प्रमुख लामिछानेले बताए ।
‘राती भन्दा दिउसैपख विद्युत चोरी गर्नेहरु भेटिन थालेपछि चुहावट टोली दिउसो पनि सक्रिय गराएका हौं’ प्रमुख लामिछानेले भने ।
चुहावट नियन्त्रणमा कडाइ अपनाएपछि चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा कोहलपुर वितरण केन्द्रले १६ लाख १२ हजार १ सय९७ रुपैयाँ रकम संकलन गरेको प्रमुख लामिछानेले जानकारी दिए ।
गत ज्येष्ठसम्म २३ प्रतिशतसम्म रहेको कोहलपुर वितरण केन्द्रको विद्युत घाटा अहिले १४.१८ प्रतिशतमा झरेको जनाइएको छ ।
मिटरमा चलखेल गरेर, मिटरसम्म आउने मुख्य सर्विस तारमै बाइपास गरेर, हुकिङ्ग गरेर लगायतका तरिका अपनाएर विद्युत चुहावट हुने गरिएको बढी भेटिने गरेको बताइएको छ ।