सिमसार क्षेत्रमा पाइने जलपंक्षीहरुको गणना शुरु

सदरलाइन संवाददाता २८ पुष २०८०, शनिबार १७:३९
 

कैलाली : विश्व सिमसार क्षेत्र तथा पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा जलपन्क्षीहरुको गणना शुरु भएको छ । नेपाल पंक्षी संरक्षण सङ्घ, चरा संरक्षण नेटवर्क, पहलमानपुर डिभिजन वन कार्यालयका प्रतिनिधि लगायत स्थानीय संरक्षणकर्मी सहितको टोली शनिबारदेखि यस वर्षको जलपन्क्षी गणनामा खटिएको हो ।

चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी र नेपाल पन्क्षी संरक्षण सङ्घका फिल्ड म्यानेजर हिरुलाल डंगौराको नेतृत्वमा दुई वटा समूहले घोडाघोडी ताल, नकरोड ताल लगायत सिमसार क्षेत्रमा रहेका तालतलैयामा जलपंक्षी गणना कार्य शुरु भएको छ ।

चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले भने, “पहिला जस्तो चराको धेरै चहलपहल छैन कतै बढेको, कतै घटेको अनुमान गरेका छौँ, सबैतिरको गणनाको नतिजा आएपछि यकिन थाहा हुन्छ ।”

घोडाघोडी तालमा ५–७ वर्ष पहिला देखिने चरा अहिले देखिन छोडेका छन् । आहाराको कमी र असुरक्षित वासस्थानका कारण चराहरू लोप हुँदै गएको अध्यक्ष चौधरीले बताए ।

नेपाल पंछी संरक्षण सङ्घको अगुवाइमा केही वर्षदेखि विभिन्न क्षेत्रमा चरा गणना गरिँदै आएको छ । चरा गणना गर्ने क्रममा कुनै ठाउँमा नयाँ प्रजातिका चरा थपिएको छ भने कतिपय ठाउँमा चराहरू हराउँदै गएको सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले बताए ।

“सूचक प्रजातिको रूपमा रहेको हरीहाँसको संख्यासमेत हरेक वर्ष घट्दै गएको छ । बच्चा कोरल्ने र हुकार्उनका लागि सुरक्षित स्थान मानिएको घोडाघोडीमा हरिहाँसको वासस्थान असुरक्षित बन्दै, आहारा घट्दै गएपछि यसको सङ्ख्या घट्दै गएको छ,” उनले भने ।


चराविद् डगौराले सानो जलेवा घोडाघोडी तालमा पाइने चराहरुमध्य रैथाने चरा भएको र यसको सङ्ख्या पनि घट्दै गएको बताए । उनले सानो जलेवाको एक हुल देखाउँदै भने, “पहिलेभन्दा गत वर्ष घटेको पाएका थियौँ, हेरौँ यो वर्ष कति भेटिन्छन् ।”

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरूको विवरण, अवस्था पत्ता लगाउन, सङ्ख्या अद्यावधि गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई चेतना अभिवृद्धि गरी संरक्षणमा हातेमालो गर्न हरेक वर्ष सिमसार क्षेत्रको जलपंक्षी गणना गरी सिमसार क्षेत्रमा चराको सङ्ख्याको हरेक वर्ष एकीकृत प्रतिवेदन तयार गरिन्छ ।

मानव गतिविधि कम हुने क्षेत्रमा चराको सङ्ख्या बढ्दै गएपनि घोडाघोडीमा मानव गतिविधि र नकरोड तालमा चोरी सिकारीका कारण चराहरूको सङ्ख्या घट्दै गएको चरा संरक्षण नेटवर्कका अध्यक्ष चौधरीले बताए ।

सूचक प्रजातिको रूपमा रहेको हरिहाँस र बगाले सिमकुखुरा पहिलेपहिले तालको छेउछाउमा बाक्लो मात्रामा देखिँदै आएकोमा अहिले फाट्टपुट्टमात्र देखिने गरेको स्थानीयको भनाइ छ । नेपालमा मात्र पाइने अधिकांश चराहरूको वासस्थान रहेको घोडाघोडी ताल क्षेत्रमा मानवीय गतिविधि कम हुने क्षेत्रमा नयाँ प्रजातिका चरापनि थपिएका छन् ।

कैलालीमा ४९६ प्रजातिका चरा पाइने गरेको जनाइएको छ । जसमध्ये राज लाहाँचे, डङ्गर गिद्ध, गरुडलगायत विश्वबाटै लोप हुने अवस्थाका चरा पनि यहाँ छन् । यसैगरी नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा ३६० प्रजातिका चरा पाइने गर्छन् ।

कैलालीमा सबैभन्दा बढी चरा प्रजाति घोडाघोडीमा पाइने गरेको तथ्याङ्कले देखाउँछ । घोडाघोडी सिमसारमा पाइने चराको व्यवस्थित तरिकाले संरक्षण गर्ने उद्देश्यले २०७८ फागुन २७ गते सुदूरपश्चिम सरकारले घोडाघोडीलाई नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भुकम्प प्रभावित जेष्ठ नागरिक र सुत्केरीलाई न्यानो कम्बल र सुत्ने खाट सहयोग

२८ पुष २०८०, शनिबार १७:३९
नेपालगञ्ज  :  भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) ले अक्सफाम नेपालसँग साझेदारी स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी रूकुम (पश्चिम) जिल्लाको सानीभेरी गाउँपालिकाको वडानं. १ चाईनाबगरमा भुकम्पबाट प्रभावित भएका जेष्ठ नागरिक, सुत्केरी र बालबालिका भएका एकसय विपन्न परिवारहरुलाई चिसोबाट बच्न सहयोग पु¥याउने ध्ययले न्यानोकम्बल र फलामको खाट सहयोग गरेको छ । […]